चुरे जोगाउन बन्दसहितको आन्दोलन घोषणा – Nepal Press

चुरे जोगाउन बन्दसहितको आन्दोलन घोषणा

रुपन्देही । तीन तहका सरकारलाई धेरैपटक आफ्नो माग राखेर सुनुवाई नभएको भन्दै बुटवलको चुरे तिनाउ संरक्षण समितिले चुरेको पहिरो नियन्त्रण गर्न बुटवल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

संरक्षण समितिका संयोजक तथा एमालेका केन्द्रीय सदस्य कमल गौतमले चुरेको पहिरो रोक्न र अलपत्र बुटवलको सडक निर्माणका लागि यथाशक्य छिटो कदम नचाले पुस २६ गते बुटवल बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार मूल बाटोमै पत्रकार सम्मेलन गरेर उनले समितिका निर्णय सार्वजनिक गरेका हुन् ।

‘हामीले विरोधका विभिन्न चरणका कार्यक्रम गर्ने निर्णय गरेका छौं, एक महिनाको अल्टिमेटम दिएर गरिएको कार्यक्रममा सुनुवाई नभए पुस २६ गते बुटवल बन्द गर्ने छौं’., गौतमले भने, ‘बुटवलको पहिचानलाई नै बिगार्नेगरी शुरु भएका महत्वपूर्ण कामहरु पनि रोकिएका छन्, संरक्षणको त कामै शुरु भएन, त्यसैले बाध्य भएर विरोधका कार्यक्रम सार्वजनिक गरेका हौं ।’

चुरे तिनाउ संरक्षणकै अभियान अन्तरगत समितिले मंसिर २१ मा सरोकारवालाहरुसंग छलफल गरेको थियो । मंसिर २२ गते मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने, पुस ३ गते राजनीतिक दलहरुलाई ज्ञापनपत्र दिने पुस ४ गते सडक विभाग र ५ गते खानेपानी संस्थानमा धर्ना दिने पुस ८ गते बन मन्त्रालयमा धर्ना दिने लगायतका कार्यक्रम छन् सार्वजनिक गरेको छ ।

त्यसैगरी आन्दोलनकै कार्यक्रम अन्तरगत समितिले पुुस ११ गते शहरी विकास तथा खानेपानी मन्त्रालय, १५ गते बुटवल उपमहानगरपालिकामा धर्ना, पुस १८ गते मुख्यमन्त्री कार्यालयमा धर्ना २३ गते दिउसो १ घण्टा चक्काजामजस्ता कार्यक्रम तय गरेको छ ।

भदौ ५ गते र ११ गते सो क्षेत्रमा गएको पहिरोले दर्जनौ घर विस्थापित भएका छन् । स्थानीयले तीनै तहका सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

पहिरोलगत्तै एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, प्रदेका मुख्यमन्त्री कुलप्रसाद केसी तथा दुई महिनापछि गृहमन्त्री बालकृष्ण खाँण सो क्षेत्रमा पुगेर यथासक्य रोकथामका योजना अगाडि सार्न पहल गर्ने प्रतिवद्धता गरेका थिए । तर ती प्रतिवद्धता कार्यन्वयन नभएको भन्दै चुरे संरक्षण समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर