सीता-राम विवाह पञ्चमी : मटकोर मनाइयो – Nepal Press

सीता-राम विवाह पञ्चमी : मटकोर मनाइयो

जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको पाँचौं दिन आज जनकपुरको ऐतिहासिक एवं धार्मिक गंगासागर पोखरीमा मटकोर सम्पन्न भएको छ ।

सीता-राम विवाहको पूर्व सन्ध्यामा जानकी मन्दिरबाट झाँकीसहित साधुसन्त र श्रद्धालुले गंगा सागरको किनारमा पुगेर मटकोर विधि गरिएका हुन् ।

मटकोर सकेपछि प्रसाद स्वरुप भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको छ । शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा रहेको साधुसन्त बताउँछन् ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि सीता-राम विवाह अर्थात् विवाह पञ्चमीमा गरिन्छ । मटकोरको क्रममा जानकी मन्दिरमा मडबा (बेदी) बनाउन गंगासागर पोखरीको माटो लगिएको छ । मडबामै सीता-राम विवाहको सबै विधि पुरा गर्ने चलन छ ।

 मटकोरमा हजारौं श्रद्धालु सहभागी थिए । सीता-राम विवाहको पूर्व संध्यामा गरिने मटकोरमा सहभागी हुनेको मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

मटकोरका क्रममा गरिएको गितनादले त्रेतायुगमा जस्तै आज सीता मैया र राम भगवानको विवाह भ इरहेको महसुस भयो-जनकपुरकी राधा साहले सुनाइन् ।

विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइयो । आज पाँचौं दिन मटकोर मनाइएको छ ।

छैठौं दिन भोली स्वयम्बर तथा शुभविवाह (विवाह पञ्चमी) हुन्छ । सातौं दिन राम कलेवा पश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर