भूपेन्द्र हत्या प्रकरण : दुई किलोमिटर लखेटेर गरिएको थियो आक्रमण – Nepal Press

भूपेन्द्र हत्या प्रकरण : दुई किलोमिटर लखेटेर गरिएको थियो आक्रमण

कैलाली । कार्तिक २७ गते कैलालीको टीकापुरमा २३ वर्षिय भूपेन्द्र बडुवालको हत्या भयो । घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । घटनामा २१ जना संलग्न रहेको उनले बताए ।

‘हामीले निरन्तर रूपमा यो घटनालाई हेरिरहेका छौँ,’ अधिकारीले भने, ‘घटनामा २१ जना आरोपीमध्ये केही पक्राउ परे, केही फरार छन् ।’

यसरी सुरु भयो ‘ग्याङ वार’

लम्की चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चस्व कायम गर्न लोकजंग शाहीलगायतले युवाहरूको समूह बनाई परिचालन गर्दै आएका थिए । उक्त समूहलाई अशोक रावलले संरक्षण गरेको प्रहरीको भनाइ छ ।

सुरुमा एउटै ग्याङमा रहेका जयन्द्र शाह र नवीन रावल फुटेपछि पटक–पटक भिडन्त हुने गरेको प्रहरी प्रमुख अधिकारीले बताए । उनीहरु आर्थिक रूपमा कुरा नमिलेपछि फुटेका थिए । त्यसपछि आपसमा पटक–पटक झडप भएको पाइएको छ ।

यी समूहका सदस्यको बिरुद्धमा कैलाली र काठमाडौँमा ६ वटा ज्यान मार्ने उद्योग र दुईवटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको छ ।

भाद्र महिनामा काठमाडौँको कालीमाटीमा जयन्द्र शाहको समूहले नवीन रावलको समूहका सदस्य हिमाल शाहीको पेटमा खुकुरी प्रहार गरेको थियो । त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहलाई आक्रमण गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।

कार्तिक ७ गते काठमाडौँबाट मोटरसाइकलमा आएको समूह २० गते लम्की पुगेको थियो । सो समूह २१ र २२ गते बौनियास्थित अनुकुल होटेलमा बसेर नवीन रावललाई आक्रमण गर्ने मौका खोजिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

त्यसको भोलिपल्ट अर्थात् २३ गते नवीन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरे । तर, लम्की पुग्न ढिलो भएपछि अर्काे समूह निस्कियो ।

मदन शाहीले नवीन रावललाई भेटेर जयन्द्र समूहले हतियार सहित आक्रमणको तयारी गरेकोबारे जानकारी गराएका थिए । त्यसपछि नवीन रावलले आफ्नो समूहका व्यक्तिहरुलाई फोन गरे । उनीहरूलाई जयन्द्र समूहका कुनै पनि व्यक्ति भेटे आक्रमण गर्ने बताए ।

त्यो दिन प्रहरीले दुई कट्टा हतियारसमेत बरमाद गरेको थियो । त्यो हतियार प्रहरीले फोला नपारेको भए ठूलो रक्तपात मच्चिन सक्ने प्रहरीको ठहर छ ।

कसरी मारिए भूपेन्द्र ?

कपिल श्रेष्ठले टिकापुरबाट मिल्ने साथी भूपेन्द्रलाई लिन बोलाए । यता नवीन रावल समूहले जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न खोज्दै हिँडिरहका थिए ।

सबैभन्दा अगाडिको स्कुटरमा स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिलो स्कुटरमा निस्किए । उनको पछाडि अर्काे स्कुटरमा चिरञ्जीवी शाही र रोशन शाही तथा उनीहरूको पछाडि नवीन रावल पनि निस्किए ।

टिकापुरको जमरा पुल नजिक आर्यन देवकोटासहितले भूपेन्द्र रावललाई भेटे । उनीहरूले आफूविरुद्ध आएको भन्दै भूपेन्द्रलाई दुई किलोमिटरसम्म लखेटे ।

भाग्दाभाग्दै सिद्धार्थ होटेल नजिक आफन्त कौसीदेवी बिष्टको घरको पेटीमा भूपेन्द्रलाई आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आलेले कुकुरी र चक्कुले हाने ।

प्रहरीका अनुसार पेट र छातीको भागमा दुई पटक, पिठ्युँको भागमा तीन पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार भएको छ ।

भूपेन्द्र अहिलेसम्म कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न नरहेको प्रहरीको दाबी छ । उनी साथिलाई लिन गएकै कारण मारिएको प्रहरी बताउँछ ।

त्यसपछि के भयो ?

हत्यामा संलग्नहरू नजिकै रहेको विष्ट आयल स्टोरनजिक पुगे । त्यहाँबाट भाग्ने योजना बनाए र खुकुरी त्यहीँ फाले । रोहित आलेलाई घर जान भने ।

नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जीवी शाही र आर्यन देवकोटा पशु हाटबजारको बाटो हुँदै जोशीपुर पुगे । त्यहाँ उनीहरूमध्ये एक जनाले अपराध स्विकार गर्ने र अरू फरार हुने योजना बनाए । त्यही योजनाअनुसार देवकोटा त्यहीँ बसे । अरूलाई भने लोकजंग शाहीको योजना अनुसार लोकेन्द्र कुँवरले चायाँभावरमा लगेर लुकाए ।

उनीहरूलाई २५ हजार रुपैयाँ उपलब्ध गराएर खाने बस्ने व्यवस्था गरिएको थियो । २५ गते सविनजङ्ग शाहीले गाडी भाडामा लिएर उनीहरूलाई धनगढीको जुगेडासम्म पु¥याए ।

२६ गते भारतीय नम्बरको बलेरो जिप भाडामा लिएर नवीन रावल लगायतलाई भारतको ढकिया गाउँ पु¥याएर फर्किएको अनुसन्धानबाट खुलेको छ । नवीन रावल समेतले प्रयोग गरेका दुईवटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियामा ल्याएर नम्बर प्लेट परिवर्तन गरी बर्दियाको भूरिगाँमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

२६ गते विहान सविनजंग शाहीले नवीन रावल समेतलाई भारत पठाइसकेपछि उनीहरूका पाँचवटा मोबाइल अरूलाई राख्न दिएको प्रहरीले अनुसन्धानबाट पुष्टि भएको छ ।

१२ जना पक्राउ, ९ जना फरार

पक्राउ पर्नेमा लम्की चुहा ३ चिसापानी बस्ने २३ वर्षका महेश रावल, सोही ठाउँका २० वर्षका धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षका आर्यन देवकोटा, १९ वर्षका मदन शाही, २२ वर्षका कपिल श्रेष्ठ, १८ वर्षका निशान्त मल्ल, लम्की चुहा ५ का २८ वर्षका विकास खड्का , टिकापुर नगरपालिका १ का २३ वर्षका प्रवीण रिमाल, बर्दियाका राजापुर ७ घर भए टिकापुर १ बस्ने २५ वर्षका रोहित आले, १५ वर्षका सोहन शाह, बर्दगोरीया गाउँपालिका २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुर बाबा ३ का २६ वर्षका सविनजंग शाही रहेका छन् ।

प्रहरीले लम्की चुहा ३ चिसापानी बस्ने २७ वर्षका नवीन रावल, २६ वर्षका चिरञ्जीवी जङ्ग शाही, २६ वर्षका हिमाल शाही, जानकी गाउँपालिका ६ जगतपुर बस्ने २८ वर्षका रोशन बहादुर शाही, टिकापुर ६ का ३५ वर्षका अशोक रावल, लम्की चुहा ३ का ३२ वर्षिय लोकजंग शाही र बर्दिया गोरुवाका २२ वर्षीय हेमन्त शाही फरार रहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रहरीको माग–दाबी

नवीन, धिरज, आर्यन, मदन निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन , अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्म कैद सजाय र सोही संहितको दफा ४१ बमोजिम क्रुर ढङ्गले हत्या गरेको भन्दै आजीवन कैद सजाय माग गरेको छ ।

लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्त शाहलाई दफा १७७ (२) बमोजिम जन्मकैद सजाय माग गरिएको छ । लोकेन्द्र कुँवर र संजिवजंग शाहलाई ३६ (३) (क) बमोजिम कसुर गरेसरह जन्मकैद सजाय माग गरिएको छ ।

प्रहरीले दफा १८६ बमोजिम प्रतिबादीहरुबाट जाहेरवालाहरूलाई मानवीय क्षतिपूर्ति समेत माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर