निर्मल निवासविरुद्ध किन खनिए कमल थापा ? – Nepal Press

निर्मल निवासविरुद्ध किन खनिए कमल थापा ?

काठमाडौं । राप्रपा अध्यक्षको निर्वाचनमा पराजित भएपछि कमल थापाले सिधै पूर्वराजामाथि दोष थोपरेका छन् । कडा शब्द प्रयोग गर्दै उनले आरोप लगाएका छन्, ‘हाम्रो पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गर्‍यो ।’

निर्मल निवास स्रोत भने पूर्वराजामाथि आक्षेप लगाउनु थापाको क्षणिक आक्रोश र पराजयको कुण्ठा मात्र भएको बताउँछ । राप्रपाको निर्वाचन र परिणाममा ‘दरबार’ को कुनै भूमिका र सरोकार नरहेको स्रोतको दावी छ ।

‘पूर्वराजाले सिंगै देश र देशवासीको चिन्ता लिइबक्सन्छ, एउटा पार्टी विशेषको नेतृत्व परिवर्तनमा हस्तक्षेप गर्ने कुरै आउँदैन,’ पूर्वराजाका एक सहयोगीले भने ।

चुनावमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्ने ठोस आधार नभए पछि पूर्वराजसंस्थासँग कमल थापाको सम्वन्ध सुमधुर नरहेको चाहिँ सत्य हो ।

थापाले महाधिवेशन अगाडि पूर्वराजाको समर्थन लिन प्रयास गरेको तर, सफलता नमिलेको स्रोतको भनाइ छ । थापाको पछिल्लो भूमिकालाई लिएर राजसंस्था निकटहरु उनीसँग सन्तुष्ट छैनन् । राजाको नाम भजाएर भोट मागे पनि राजतन्त्रप्रति थापाको निष्ठामा उनीहरुको आशंका छ ।

‘उहाँले आफ्नो फाइदाका लागि राजसंस्थालाई बोक्नुभएको हो,’ राजसंस्थानिकट स्रोत भन्छ, ‘त्यसैले महाराजधिराजले उहाँलाई साथ दिनुपर्ने कुनै कारण छैन ।’

त्यसो भए के पूर्वराजाको सहानुभूति राजेन्द्र लिङ्देनपट्टि थियो त ? महाधिवेशनको पूर्वसन्ध्यामा निर्मल निवासले नै राजेन्द्र लिङ्देनलाई थापाविरुद्ध उभ्याएको चर्चा ब्यापक थियो । यद्यपि, यसलाई पुष्टि गर्ने कुनै आधारहरु भने भेटिएनन् । पूर्वराजासँग निकट सम्वन्ध राख्ने राप्रपाका केही नेताहरुले लिङदेनलाई समर्थन गरेको चाहिँ सत्य हो ।

यदि पूर्वराजसंस्थाले लिङदेनलाई भित्रीरुपमा सघाएकै हो भने पनि थापाले यसरी आगो ओकल्नु मुर्खतापूर्ण देखिन्छ । हिजोसम्म जुन राजसंस्थालाई काँधमा बोकेर राजनीति गरे, आज चुनाव हारेको झोकमा उसैलाई दुत्कार्नुले उनको सैद्धान्तिक धरातल अत्यन्त कमजोर प्रमाणित भएको छ ।

महाधिवेशन उद्घाटनको कार्यक्रममा आफूलाई अब्बल राजावादी देखाउन थापाले खुबै प्रयत्न गरेका थिए । आफ्नो भाषणमा उनले सडकको बलबाट राजालाई नागार्जुनबाट निर्मल निवासमा ल्याउने गुड्डी हाँकेका थिए । तर, त्यसको चार दिनपछि उनले तल्लो स्तरमा ओर्लिएर पूर्वराजामाथि हिलो छ्यापेका छन् । आफ्नो राजनीति सिध्याउन पूर्वराजाले खेल खेलेको उनको दावी छ ।

आफ्नो हारको पूर्वराजसंस्थामा थोपर्नु भनेको थापाले आफ्ना पार्टीका कार्यकर्ताप्रति गरेको अविश्वास हो । यदि उनले मतदाताको मन जितेका थिए भने पक्कै भोट पाउँथे । निर्मल निवासले जति खेले पनि । यसर्थ संयमतापूर्वक आत्मसमिक्षा गर्नुपर्ने समयमा उनले उत्तेजित प्रतिक्रिया दिएर आफ्नै कद छोट्याउने काम गरेका छन् ।

उनको यो वक्तव्य कति अलोकप्रिय बनेको छ भन्ने यसमा आएका प्रतिक्रियाहरुबाट पनि थाहा हुन्छ । चुनावमा होमिइसकेपछि सहजरुपमा हार स्वीकार्ने नैतिकता उनले देखाउनुपथ्र्यो ।

थापाले भनेको एउटा कुरामा सत्यता छ । अत्यन्त प्रतिकुल समयमा पनि उनले राजतन्त्रवादी विचारधाराको धुकधुकी जोगाएका हुन् । आज राजसंस्थाको पक्षमा जति मानिसहरु खुलेका छन्, २०६२/६३ परिस्थितिमा यो सम्भव थिएन ।

त्यसबेला राजसंस्थाको कुरा गर्नेहरुलाई प्रतिगामी भनेर दुत्कार्ने मात्र होइन, भौतिक हमला नै हुने गर्थ्यो । त्यो अवस्थाबाट उठेर आज राप्रपाको कार्यक्रममा देउवादेखि प्रचण्डसम्मलाई उपस्थिति गराउने अवस्थासम्म उनले ल्याएकै हुन् ।

यद्यपि, पछिल्लो समयमा राप्रपा पात झरेको रुखजस्तो उजाड भएको छ । यदि आफ्नो सफलताको श्रेय थापाले खोज्छन् भने असफलताको अपजस पनि बोक्न तयार हुनुपर्छ ।

राप्रपाले देशभरमा एक सिट जित्ने र राष्ट्रिय पार्टीको हैसियतसमेत गुमाउने स्थितिको नैतिक जिम्मेवार उनले आफूलाई नै ठहर्याउनु पर्छ । अहिलेको परिणाम पनि सम्भवतः यही स्थितिको उपज हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर