टेलाको ‘लेट गोल’मा हारबाट जोगियो मनाङ – Nepal Press

टेलाको ‘लेट गोल’मा हारबाट जोगियो मनाङ

काठमाडौं । फ्रान्कलिन टेलाको ‘लेट इकोलाइजर’सँगै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक लिगमा संकटा क्लबविरुद्धको हारबाट जोगिएको छ ।

निर्धारित ९० मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको मनाङका लागि इन्ज्युरी समयमा टेलाले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका हुन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको ‘भली’ सोझै गोलमा परिणत भएको थियो ।

सुरुआती तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै लक्ष्यसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उत्रिएको मनाङले दुई पटक नै संकटाविरुद्ध पुनरागमन गर्नु परेको थियो ।

यद्यपि, निर्धारित ९० मिनेटमो खेल सकिन २० मिनेट बाँकी रहँदा पुनः पछाडि परेको मनाङ हार नजिक पुगिसकेको थियो । सुरुआतमा गोलका लागि स्पष्ट मौका दुवै टोलीले बनाउन सकेका थिएनन् ।

निरज बस्नेतले ३०औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पेनाल्टी एरिया अगाडि दायाँ तर्फबाट लक्ष्मण रुचालले प्रहार गरेको फ्रि–किकमा निरज बस्नेतले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

त्यसको पाँच मिनेट नबित्दै मिनेटमा पुजन उपरकोटीले करिब ३० यार्डबाट प्रहार गरेको फ्रि–किकलाई फ्रान्कलिन टेलाले हेडरमार्फत मिलाइदिएको पासलाई भारतीय खेलाडी दयानन्द सिंहले हेडरमार्फत मनाङका लागि बराबरी गोल फर्काए ।

त्यसअघि २९औं मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले संकटाका गोलकिपर राजाबाबु थापा पोजिसनमा नभएका बेला खाली पोष्टमा गरेको प्रहार संकटाका डिफेन्डर निरजले गोल लाइन नजिकबाट फर्काएका थिए ।

त्यसबाहेक दुवै टोलीले छिटपुट मौका बनाए पनि स्पष्ट मौका सिर्जना गर्न सकेनन् । बराबरीसँगै संकटा सुरुआती तीन खेलमा अपराजित रहँदै ५ अंक जोडेर लिग तालिकाको तेस्रो स्थान उक्लिएको छ । पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ ले हराएको थियो ।

मनाङले भने शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । पहिलो खेलमा जावलाखेल युथ क्लब र दोस्रो खेलमा शेर्पालाई समान १–० को नतिजामा पराजित गरेका थियो । सुरुआती तीन खेलबाट ७ अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर