नेपालमा ‘ओमिक्रोन’को जोखिम बढ्दो : पूर्वी नाकामा भिडभाड उस्तै – Nepal Press

नेपालमा ‘ओमिक्रोन’को जोखिम बढ्दो : पूर्वी नाकामा भिडभाड उस्तै

नाकाबाट दैनिक तीन हजार जनाको आवतजावत

झापा । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेसँगै यसको जोखिम नेपालमा पनि बढेको छ । संक्रमण दर उच्च रहेको मानिने यो भेरियन्ट भारतमा देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन ।

भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् ।

अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जोखिम पनि बढेको छ ।

भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ ।

‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उनले भने, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’

नाकाबाट दैनिक तीन हजार जनाको आवतजावत

पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् ।

नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा हप्तामा दुई—चार जनामा कोरोना संक्रमण देखिइरहेको उनले बताए ।

अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताए । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उनले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’

जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे ।

यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५(७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैको एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर