लुम्बिनीमा आफ्नो पक्षका उम्मेदवार जिताउन केन्द्रीय नेताको दौडधुप – Nepal Press
कांग्रेस महाधिवेशन

लुम्बिनीमा आफ्नो पक्षका उम्मेदवार जिताउन केन्द्रीय नेताको दौडधुप

सभापतिका लागि शाह र पुनमा को बलियो ?

रुपन्देही । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशमा संस्थापन र इतर समूहले अलग अलग प्यानलको मनोनयन दर्ता गरेका छन्, जहाँ आज चुनाव हुँदैछ ।

लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कंडेल, भरत शाह, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमालसहितका नेताहरुले मोर्चा बनाएर पूर्वराज्यमन्त्री तथा संघीय लेखा समितिका सभापति भरत शाहको नेतृत्वमा प्यानल दर्ता गराएका छन् ।

संस्थापनइतर समूहबाट नेताहरु चन्द्र भण्डारी, दिपक गिरी, सन्जय गौतमलगायतका नेताहरुले मोर्चा बनाएर पूर्वराज्यमन्त्री तथा रोल्पाबाट दुईपटक जिल्ला सभापति बनेका अमर पुनको नेतृत्वमा अर्को प्यानल दर्ता गराएका छन् ।

कांग्रेसको लुम्बिनी प्रदेश पदाधिकारीमा उम्मेदवार बनेकाहरू अधिकांश जिल्ला सभापति र सांसद भइसकेकाहरु रहेका छन् । संस्थापन इतरबाट प्रदेश सभापतिका उम्मेदवार अमर पुन कांग्रेसको रोल्पाका निवर्तमान सभापति हुन् । उनीसहित यो प्यानलमा ४ जना निवर्तमान सभापति पदाधिकारीका उम्मेदवार रहेका छन् ।

उपसभापतिका उम्मेदवार भुवन श्रेष्ठ गुल्मीका निवर्तमान सभापति हुन् । महामन्त्रीका उमेदवार सुरेन्द्रराज आचार्य कपिलवस्तुमा दुई कार्यकाल सभापति चलाइसकेका छन् ।

सहमहामन्त्रीका उम्मेदवार विष्णु मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् । यीमध्ये अमर पुन र सुरेन्द्र आचार्य संविधान सभा सदस्य भएर राज्यमन्त्रीसमेत भइसकेका छन् । अर्का उपसभापति अष्टभुजा पाठक अहिले प्रदेश सभा सदस्य छन् । उनी अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा हारेका थिए ।

महामन्त्रीका उमेदवार विक्रम खनाल पनि संविधान सभा सदस्य हुन् । संस्थापन इतरबाट सहमहामन्त्रीमा खगराज पाण्डे र निमा गिरी रहेका छन् ।

संस्थापन समूहबाट सभापति भएका भरतकुमार शाह अहिलेसँगै तीन कार्यकाल सांसद भएका छन् । उनी विगतमा अर्थ राज्यमन्त्री पनि भए । उपसभापतिका उम्मेदवार सुधाकर पाण्डे कपिलवस्तुका पूर्व जिल्ला सभापति हुन् । उपसभापतिकै अर्का उम्मेदवार राजु खनाल संविधान सभा सदस्य भइसकेका छन् ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी माओवादी केन्द्रका कृष्णबहादुर महरासँग पराजित भएका थिए । महामन्त्रीका उम्मेदवार जन्मजय तिमिल्सिना तरुण दलको कार्यवाहक केन्द्रीय सभापति भएका थिए ।

अर्का महामन्त्रीका उमेदवार खिमानसिंह रायमाझी पनि तरुण दलमै आवद्ध नेता हुन् । त्यसबाहेक सहमहामन्त्रीमा लक्ष्मीनारायण चौधरी, माया पुन र सरिता चौधरी दौडमा छन् ।

तुलनात्मक हिसाबले इतर समूह केही बलियो मानिए संस्थापन समूहले बलियो उम्मेदारका हिसाबले शाहलाई मैदानमा पठाएको हो । उनलाई नजिकबाट अर्को समूहका नेताहरुले पनि निर्वाचन जित्न शाहले अनेक रणनीति बनाउनसक्ने र सबै जिल्लामा फरक समूहबीच बलियो सम्बन्ध रहेकाले चुनाब आफ्नो पोल्टामा पार्नसक्ने आंकलन गरेका छन् । पहिलो पटक प्रादेशिक संरचनामा आफ्नो कमिटी बनाउन थालेको कांग्रेसमा प्रदेशको क्षेत्राधिकार बलियो भएकाले यसमा आकांक्षी बढेका हुन् ।

प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापतिसहितका उम्मेदवार विजयी भएका छन् भने रुपन्देही र बर्दियामा मात्र देउवा पक्षका उम्मेदवार विजयी छन् । बाँके जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन ।

जिल्ला र महाधिवेशन प्रतिनिधिको तथ्यांक हेर्दा पौडेल पक्ष केही अगाडि देखिएको छ र संस्थापन पक्षले निर्वाचन जित्ने समयमा अलग समूहमा रहेपनि प्रदेश सभापतिमा संस्थापन समूहले नै जित निकाल्ने दावी गरेको छ । त्यसैले पनि प्रदेश सभापतिमा शाह र पुनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

अधिवेशनले प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६ सय ४८ प्रतिनिधि भैरहवामा जुटेका छन् ।

शुक्रबार दुवैपक्षले प्यानलगतरुपमा उम्मेदवारी दर्ता गरेपछि शनिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार र प्रतिनिधिले प्रचारप्रसारलाई तीव्र पारेका छन् । आआफ्ना समूहका ब्यानर टाँग्दै हिंडेका छन् भने मतदानस्थल उम्मेदवारका पोस्टर र पार्टी झण्डाले रंचीचंगी बनेको छ ।

को हुन् भरत शाह ?

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको लेखा समितिका सभापतिसमेत रहेका शाह जिल्लामा लोकप्रिय मानिन्छन् । यद्यपि संस्थापन पक्ष भएपनि गृहमन्त्री बालकृष्ण खाँणसंग उनको जिल्लामा छुट्टै समूह बनेर पालिका र वडा अधिवेशन भएको थियो ।

जिल्लाको नेतृत्वका लागि भने सभापतिमा नेता बालकृष्णका सहोदर भाई रामकृष्ण खाँण र उपसभापतिमा भरत शाहकी श्रीमति अनिता शाह निर्विरोध भएपछि उनीहरुबीचको टकराव केही मत्थर भएको छ । ०५६, ०७० र ०७४ सालको निर्वाचनमा विजयी शाह अर्थराज्यमन्त्री समेत भइसकेका छन् ।

०५६ सालमा सालमा उनले अजिव मुसलवानलाई पराजित गरेका थिए । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका रामनाथ ढकाललाई पराजित गरेका थिए । ०७४ सालको आमनिर्वाचनमा माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उनी रामनाथ ढकालसंग थोरै मतले पराजित भएका थिए ।

०२७ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउने शाहले ४० वर्षदेखि पार्टी जिम्मेवारमा रहेर काम गरेकाले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताए ।

लामोसमय पार्टीको विभिन्न कमिटीमा रहेर काम गरेको बताउँदै यसअघि गरेका कामकै कारण आफ्नो उम्मेदवारी प्रदेश सभापतिमा भएको शाहको भनाइ छ ।

शाहको प्यानलमा दुईजना उपसभापति पदका उम्मेदवारहरुमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल उम्मेदवार छन् । यस्तै दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी, सहमहामन्त्रीमा १ महिलासहित ३ पदक लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार छन् ।

यस्तो छ अमर पुनको इतिहास

माओवादीको युद्धमा लामो समय टकराव लिएका कांग्रेस नेता हुन् अमर पुन । लुम्बिनी प्रदेशबाट इतर समूहमा बलियो रहेका दाङका कांग्रेस नेता दीपक गिरी, गुल्मीका चन्द्र भण्डारीसँग बलियो सम्बन्ध भएका पुन आफ्नो जित निश्चित भएको बताउँछन् ।

पूर्वराज्यमन्त्री रहेका पुनले द्वन्द्वले पछाडि परेका जिल्लाहरुमा कांग्रेसलाई बलियो संगठनको रुपमा उम्भाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । दुईपटक कांग्रेस रोल्पाको सभापति बनेका उनले आफू सभापतिमा निर्वाचित भएपछि आउँदो चुनावमा पार्टीलाई एकनम्बर बनाउने गरी लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर