कांग्रेसको प्रदेश नेतृत्वमा कहाँ को-को भिड्दैछन् ? – Nepal Press

कांग्रेसको प्रदेश नेतृत्वमा कहाँ को-को भिड्दैछन् ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्न ६ प्रदेशमा उम्मेदवारी दर्ता सकिएको छ । केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार आज प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो । अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन भएको छ । सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ । सो प्रदेशको सभापतिमा संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।

प्रदेश २ मा प्रदेश अधिवेशन हुन सकेको छैन । सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित बनेको हो ।

वागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिको आकांक्षी बनेका छन् । संस्थापनइतर पक्षले जगदीश्वरनरसिंह केसीलाई सभातिको उम्मेदवार बनाएको छ । सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन् ।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन् । संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्यासी रहेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् ।

संस्थापन पक्षको पकड भनिएको सुदुरपश्चिममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सो प्रदेशमा संस्थापनइतर पक्षले नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर