दोहोरी साँझहरुमा अनिवार्य स्यानिटरी प्याड राख्ने अभियान – Nepal Press

दोहोरी साँझहरुमा अनिवार्य स्यानिटरी प्याड राख्ने अभियान

चितवन । चितवनका दोहोरी साँझहरुमा स्यानिटरी प्याड तथा प्राथमिक उपचार सामाग्री अनिवार्य रुपमा राख्ने अभियान सुरु भएको छ ।

महिलाका निम्ति महिला मञ्च नेपाल जिल्लास्तरीय पहिचान सञ्जालले अभियान सुरु गरेको हो ।

महिला मञ्चकी केन्द्रीय उपसंयोजक आयुष्मा केसीले हरेक दोहोरी साँझ तथा गजल साँझहरुमा अनिवार्य रुपमा महिनावारी व्यवस्थापन सामाग्री राख्न सञ्चालकहरुलाई आग्रह गरिएको बताइन् ।

‘रात्रीकालिन सांगीतिक क्षेत्रमा कार्यरत महिलाहरु महिनावारीका बेला निकै समस्यामा परेको गुनासो आएपछि अभियानै चलाएका हौं’, उनले भनिन्, ‘पहिलो चरणमा हामीलेनै सामाग्री वितरण गरेका छौँ, आगामी दिनमा उहाँहरुलेनै व्यवस्थापन गर्नुहुनेछ ।’

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर यो अभियान चलाइएको हो । चितवनमा ७ वटा दोहोरी साँझ र एउटा गजल साँझ सञ्चालनमा छन् । करिव ८० जना महिलाहरु गायन, नृत्य तथा वेटरका रुपमा कार्यरत छन् ।

जिल्लास्तरीय सञ्जालकि अध्यक्ष गायिका सरिता गुरुङले महिनावारीका बेला सेनेटरी प्याड समेत उपलब्ध नहुदा सास्ती भोग्नुपरेकाले अभियान चलाइएको बताइन् ।

‘राती लगातार ४ घण्टा गीत गाउदा या नाचिरहका बेला सजिलै सेनिटरी प्याड किन्ने सुविधा पनि हुदैन’, उनले भनिन्, ‘पहिल्यै मोज्दात राखेमा तत्कालै समस्या हल गर्न पनि सजिलो हुनेछ ।’

४ वर्षदेखि दोहोरी साँझमा नृत्य तथा गाउदै आएकी मुना मगरले आकस्मिक महिनावारिहुदा जोखिमयुक्त कपडाहरु प्रयोग गर्नुपर्ने बाध्यता हट्ने बताइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका सचिव जिवि सुनारले महिलामैत्री अभियान प्रशंसा गर्न लायक भएको बताए । गायक शक्ति गोदारले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रतिष्ठान चितवनका निवर्तमान अध्यक्ष आनन्दकुमार रञ्जितले स्वास्थका लागि अतिआवश्यक सामाग्रीहरु निरन्तर राखिने बताए ।

प्रतिष्ठान चितवनका अध्यक्ष लोकबहादुर रानाभाटले अब देखि हरेक दोहोरो साँझहरुमा अनिवार्य स्वास्थ सामाग्री तथा सेनिटरी प्याड राखिने बताए ।

महिला अधिकारकर्मी मञ्जु खाँडले सेनिटरी प्याड सरकारले निस्शुल्क रुपमा सार्वजनिक स्थानहरुमा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *