विक्रम पाण्डे दुवैतिर ठिक्क, कार्यकर्ता दिक्क ! – Nepal Press

विक्रम पाण्डे दुवैतिर ठिक्क, कार्यकर्ता दिक्क !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि खडा भएका दुई प्यानलमा एक साझा उम्मेदवार छन्, विक्रम पाण्डे । कमल थापा र राजेन्द्र लिङदेन दुबैका प्यानलबाट उपाध्यक्ष प्रस्तावित भएका छन् उनी । तर, यसले मात्रै उनको चुनावी जित सुनिश्चित गर्दैन ।

दुवै प्यानलमा परेपछि सर्वसम्मत उपाध्यक्ष हुने कतिले ठानिरहेका छन् । यद्यपि, राप्रपाको नेतृत्वका संरचनाका कारण त्यस्तो सम्भावना हुँदैन । राप्रपामा उपाध्यक्षमा १ महिलासहित ४ जना निर्वाचित हुने व्यवस्था छ । दुवै प्यानलमा गरी २ महिलासहित सात जना उम्मेदवार छन् ।

प्रतिनिधिले भोट हाल्दा प्यानलको अर्थ हुँदैन । उनीहरुले दुवै प्यानलबाट रोजेका व्यक्तिलाई छानेर भोट हाल्न सक्छन् । त्यसो भएकाले दुवै प्यानलमा भएर पनि विक्रम पाण्डेलाई भोट नहाल्ने विकल्प प्रतिनिधिसँग रहन्छ ।

पुरुष उपाध्यक्षमा पाण्डेसहित जम्मा ५ जना उम्मेदवार रहेकोमा दुवै प्यानलमा पर्दा पक्कै पनि पाण्डेको दावेदारी बलियो देखिएको छ । यसकारण कि थापा वा लिङदेन दुवैका प्रतिनिधि जसले व्यक्ति नहेरि पार्टीले खडा गरेको प्यानललाई मत हाल्छन्, उनीहरुको भोट पाण्डेलाई आउन सक्ने भयो ।

तर, दुवैतिर प्यानलमा रहँदा दुवैतर्फका कार्यकर्ताहरु पाण्डेसँग रुष्ट छन् । दुवै पक्षले पाण्डेबाट धोका पाएको महसुस गरेका छन् । त्यसैले उनलाई अपेक्षित भोट नआउने खतरा पनि उत्तिकै छ ।

पाण्डेले आफ्नो झुकाव कतापट्टि हो भन्ने खुलाएका छैनन् । उनी पहिले कमल थापाको पक्षमा थिए । तर, राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदावरी घोषणा गरेर माहोल तताउन थालेपछि उनी दोधारमा परे । पाण्डेका धेरै मान्छेहरु लिङदेनतिर देखिएका छन् । पछिल्लोपटक उनी स्वयम्ले लिङदेनलाई वचन दिएको स्रोतले बतायो ।

लिङदेननिकट स्रोतले भन्यो, ‘उहाँले साथ दिने बचन दिएकाले नै प्यानलमा राखिएको हो । थापाको प्यानलमा कसरी पर्नुभयो आश्चर्यमा परेका छौं ।’

यता थापा पक्षको पनि सोही दावी छ । पाण्डे अहिलेसम्म आफूहरुसँगै रहेको थापा पक्षका नेताहरु बताउँछन् ।

‘उहाँले कहिले पनि (थापाको) साथ छोड्नुभएको छैन, कसरी उताको पयनलमा पर्नुभयो आश्चर्यमा छौं,’ एक नेताले भने ।

स्रोतका अनुसार पाण्डेले दोगला चरित्र देखाउँदै दुवै नेताहरुलाई ठिक्क पारेका छन् । दुवैतर्फको प्यानलमा परेर सजिलोसँग उपाध्यक्ष निर्वाचित हुने उनको रणनीति बुझिएको छ । यद्यपि, उनको शैलीबाट दुवै पक्षका कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

चितवनका प्रभावशाली नेता हुन्, पाण्डे । उनलाई साथ लिएर एमालेले चितवनमा माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव हराउने रणनीतिसमेत बनाएको छ । पछिल्लो समय पाण्डे एमालेमा प्रवेश गर्न लागेको हल्लासमेत चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर