संसद डाकेकै दिन अमेरिकामा एमसीसी बैठक : नेपाल पनि एजेण्डा – Nepal Press

संसद डाकेकै दिन अमेरिकामा एमसीसी बैठक : नेपाल पनि एजेण्डा

काठमाडौं । मंसिर २८ गते अमेरिकी अनुदान सम्झौता (एमसीसी) निर्देशक समितिको बैठक बस्दैछ । एमसीसीले सार्वजनिक गरेको बैठकको एजेन्डामा नेपाललाई पनि राखिएको छ ।

एजेन्डाको चौंथो सूचीमा नेपाल कम्याक्टलाई पनि राखिएको छ । नोभेम्बर १७ मा दुईदिने काठमाडौं भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र सेप्टेम्बर ९ मा आएकी उपाध्यक्ष फतिमा सुमारको दबाबबीच एमसीसीको निर्देशक समिति बैठक बस्न लागेको हो ।

एमसीसीले सार्वजनिक गरेको बैठकको एजेन्डामा नेपाल र इथियोपियाको थे्रसहोल्डलाई पनि समावेश गरिएको छ । न्यूयोर्क समयअनुसार डिसेम्बर १४ मा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बैठक बस्दैछ ।

उक्त बैठकले सन् २०२२ को आर्थिक वर्षमा विभिन्न मुलुकहरुलाई एमसीसी परियोजनाको लागि छनौट गर्ने र छनौट प्रक्रिया सुरु गर्ने एजेन्डा समेत तय गरेको छ । बोर्ड बैठक भर्चुअल माध्यममार्फत बस्ने भएको छ ।

सम्झौतालाई लिएर नेपालमा राजनीतिक ध्रुवीकरण तीव्र भैरहेको बेला बस्न लागेको एमसीसी मुख्यालयको उक्त बैठकलाई महत्वका साथ लिइएको छ । सहायक विदेशमन्त्री लू र उपाध्यक्ष सुमार दुबैले नेपाल भ्रमणको बेला सम्झौताको संसदीय अनुमोदन गर्न दलहरुलाई दबाब दिएका थिए ।

नेपालले लिन नचाहे कम्प्याक्टलाई अन्य मुलुकमा लैजाने सन्देश उनीहरुले दिएका थिए । उनीहरुमार्फत वासिङ्टनको स्पष्ट सन्देश थियो ः या एमसीसी स्वीकार गर नत्र हामी अन्तै लैजान्छौं ।’ तर, एमसीसीले भने नेपालको लागि समयसीमा नतोकेको बताइसकेको छ ।

बोर्ड बैठक बस्न केही साता बाँकी रहँदा त्यसले लिनसक्ने सम्भावित निर्णयलाई लिएर नेपालमा चासो बढेको छ । सत्तारुढ दल कांग्रेस एमसीसी सम्झौतालाई पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी दल संसोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा छन् ।

सहायक विदेशमन्त्री लूसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लिएर संसदमा भोटिङ समेत हुनसक्ने बताएका थिए । प्रचण्डले एमसीसीको छिनोफानो डेमोक्रेटिक प्रोसेसमार्फत हुनसक्ने बताएका थिए । एमसीसीको मूल ड्राफ्टलाई तलमाथि पार्दा बहस र विवाद निम्तिएको प्रचण्डको भनाई थियो ।

एमसीसी मुख्यालयमा निर्देशक समितिको बैठक बस्ने दिनमै मंसिर २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदका दुबै सदनको बैठक बोलाएकी छिन् । एमसीसीलाई लिएर संसदीय अनुमोदन हुन नसकिरहेको बेला एमसीसीकै बैठकको दिनमा हुन लागेको संसदको बैठकलाई महत्वका साथ लिइएको छ ।

‘संसद बैठक बोलाउनु र एमसीसीको बैठक बस्नु संयोग मात्र हुनसक्छ’ एमसीसीका नेपाल निर्देशक खड्ग विष्टले नेपाल प्रेसलाई भने, ‘नेपालको संसद बैठकसँग एमसीसी बोर्ड मिटिङको सम्बन्ध के हुनसक्ला र ?’

नेपाल र अमेरिकाबीच २९ भदौ, २०७४ मा मिलेनियम च्यालेन्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर