कांग्रेस लुम्बिनी प्रदेशको चुनावी प्रक्रिया सुरु, दुवै पक्षको प्यानल तयार – Nepal Press

कांग्रेस लुम्बिनी प्रदेशको चुनावी प्रक्रिया सुरु, दुवै पक्षको प्यानल तयार

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानलको घोषणा भएको छ । संस्थापन इतर समूहबाट यसअघि नै प्यानल घाेषणा भइसकेकाे थियाे ।

निर्वाचनको पूर्वसन्ध्यामा भैरहवामा घोषणा सभाको आयोजना गरी प्यानल सार्वजनिक गरिएको छ । प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिने भएका छन् ।

यस्तै महामन्त्रीमा पनि २ पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सहमहामन्त्रीमा १ महिलासहित ३ पदको लागि रुपन्देहीकी सरिता चौधरी बाँकेकी माया पुन र बाकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जनाए ।

सदस्य पदको लागि भने अझै छलफलकै क्रममा रहेको सभापति पदका उम्मेदवार भरतकुमार शाहले बताए । उनले बिहीबार रातीसम्ममा सदस्यको नामावली पनि तयार गरिने जनाए ।

संस्थापन पक्षले अन्तिम समयमा पदाधिकारीको उम्मेदवार टुंगो लगाएको हो । संस्थापन इतर पक्षबाट भने यसअघि नै सबै पदमा उम्मेदवार टुंगो लागिसकेको छ ।

संस्थापन इतर समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् । यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)ले उम्मेद्वारी दिने निश्चित भएको छ ।

नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत अहिले बिहान ८ बजेदेखि मनोनयनको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना चयन हुनेछ्न् । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांगमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *