लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन – Nepal Press

लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन

रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे । गृहजिल्ला रुपन्देही भएका उनी यो प्रदेश निर्वाचन समितिका संयोजक पनि हुन् ।

अधिवेशनमा नेपाली कांग्रेसका नेताहरू डा. चन्द्र भण्डारी, भरतकुमार शाह, प्रमोद यादव, लुम्बिनी प्रदेशका सांसदहरू, महाधिवेशन÷प्रदेश प्रतिनिधि, लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू, नगर तथा वडा सभापतिहरू सहभागी छन् ।

महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहीबार मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताए । प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् ।

प्रदेशको सभापतिमा संस्थापन समूहबाट रुपन्देहीका भरत शाह र संस्थापन इतर समूहबाट रोल्पाका अमर पुनबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु दुवै पूर्व राज्यमन्त्री हुन् ।

जिल्ला जिल्लामा संस्थापन र इतर पक्षबीच निर्वाचन भएकाले प्रदेशमा पनि दुवै पक्षका नेताहरु प्यानल बनाएर निर्वाचनमा जाने भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहबाट पदाधिकारीका उम्मेदवार ।

संस्थापन इतर समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् । यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)ले उम्मेद्वारी दिने निश्चित भएको छ ।

संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको थियो । यो समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीले जिम्मेवारी पाएका थिए ।

संस्थापन समूहबाट रुपन्देहीका अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, बाँकेका सुरेन्द्र हमाल बलिया उम्मेदार हुन् । तर रुपन्देहीबाट भरत शाह सभापतिको उम्मेदार भएपछि भूगोल मिलाउनका लागि पनि रज्जाकले नपाउने निश्चितजस्तै भएको छ । संस्थापनबाट रूपन्देहीका फणिन्द्र शर्मा, गुल्मीका छन्दबहादुर पहराइ, दाङका राजु खनालको नाम आए पनि कसैको टुंगो लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर