एमाले केन्द्रीय समितिमा अपांगता भएकाको प्रतिनिधित्व नभएको भन्दै विरोध – Nepal Press

एमाले केन्द्रीय समितिमा अपांगता भएकाको प्रतिनिधित्व नभएको भन्दै विरोध

काठमाडौं । हालै सम्पन्न नेकपा एमालेको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा अपांगता भएका व्यक्तिलाई नसमेटेकोप्रति राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ ।

अन्तर्राष्ट्रिय अपांग दिवसको पूर्वसन्ध्यामा महासंघले बिहीबार गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष मित्रलाल शर्माले आपत्ति जनाएका हुन् ।

राजनीतिक दलले भाषण गर्दा र भोट माग्दा अपांगता भएका व्यक्तिका कुरा उठाउने गरेको भए पनि प्रतिनिधित्व गराउँदा भने बिर्सिने गरेको उनले गुनासो गरे ।

शर्माले भने, ‘हामीले लामो समयदेखि राजनीतिक दलमा अपांगता भएका व्यक्तिको पनि सहभागिता हुनुपर्छ भनेर उठाउँदै आएका छौ । तर, कुनै पनि राजनीतिक दलले सुनिरहेका छैनन् । भर्खरै अधिवेशन सम्पन्न गरेको नेकपा एमालले पनि सुनेन ।’

राजनीतिमा संलग्न भएका अपांगता भएका व्यक्ति र संस्थाले धेरै पटक राजनीतिक दलका कार्यालयमा धर्ना दिँदा र ध्यानाकर्षण गराउँदा पनि नसुनेको अध्यक्ष शर्माको भनाई छ ।

अब अधिवेशन गर्ने तयारीमा रहेका राजनीतिक दललाई लक्षित गर्दै अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिको सहभागिता गराउन माग गरे ।

उनले भने, ‘फेरि पनि हामी ध्यानाकर्षण गराउन चाहन्छौ । अहिले हाम्रो कार्यालय नजिकै राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चलिरहेको छ । उसले पनि अपांगता भएका व्यक्तिलाई समेट्ने छाँटकाँट देखाएको छैन ।’

अध्यक्ष शर्माले सरकारले गर्ने राजनीतिक नियुक्तीमा पनि अपांगता भएका व्यक्तिलाई नसमेटेकोप्रति दुख व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर