कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित – Nepal Press

कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित

सर्लाही । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीवार बिहानैबाट सम्पर्कविहीन बनेका हुन् ।

कडा विवादका बीच वडा अधिवेशन गराएका निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने र शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन गराउने तयारीमा थिए ।

तर, निर्वाचन अधिकृत राउत सम्पर्कविहीन भएसँगै शुक्रबारको लागि तय भएको प्रदेश र क्षेत्रीय अधिवेश समेत अनिश्चित बनेको छ । उनी जिल्लास्थित सुरक्षा निकायको सम्पर्कमा समेत नरहेको बताइएको छ । जिल्लामा सोमबार भएको वडा अधिवेशनअन्तर्गत मुख्य गरी निर्वाचन क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो ।

सोही क्रममा दुई पटक गोलीसमेत चलेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ स्थित प्रतिनिधि सभा सांसद अम्रेश कुमार सिंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह बीच कडा टकरावकोस्थिती सृजना भएको छ ।

विवाद उग्र बन्दै गएको, एकअर्काको अस्तित्व मेटाउने खेलमा नेता लागेपछि असुरक्षा महसुस गर्दै निर्वाचन अधिकृत राउत काठमाडौँ फर्किएको हुन सक्ने केहीको अनुमान पनि छ । तर, हालसम्म यसको पुष्टि भने हुन सकेको छैन ।

कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापति र इतरपक्षसँग समेत राउत सम्पर्कमा नरहेका नेताहरूको भनाइ छ । सर्लाही कांग्रेसको अधिवेशन गराउन खटिएका दुई निर्वाचन अधिकृत दुई पक्षको चर्को विवाद देखेपछि निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर काठमाडौँ फर्किएका थिए ।

निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि फेरि एक पटक सर्लाहीका कांग्रेस नेता कार्यकर्तामा निराशा छाएको छ । अन्तिम समयमा आएर अधिवेशन प्रक्रिया अन्योलमा परेपछि सर्लाहीबाट कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सहभागी हुने सम्भावनासमेत अनिश्चित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर