ए डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीले दिए राजीनामा
वार्ता नभए भोलिका खेल नखेलाउने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरुले राजीनामा दिएका छन् ।
शहीद स्मारक ए डिभिजन लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् ।
अहिले लिग खेलाइरहेका १२ जना रेफ्रीमध्ये ६ जनाले राजीनामा दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाल प्रेसलाई जानकारी दिए ।
‘हामीले ३/४ महिनामा फिटनेस लेभलको टेस्टमा मागेका थियौं, अन्तर्राष्ट्रिय अभ्यास पनि यही नै छ,’ महासचिव तुलाधरले भने, ‘अहिले लिग चलिरहँदा टेस्ट दिन नसकिने कुरा अध्यक्ष (कर्माछिरिङ शेर्पासँग) भएको रहेछ, हामीसँग १२ जना रेफ्री छन्, तर सबैले राजीनामा दिएका होइनन्, ६ जनाको राजीनामा आएको छ ।’
महासचिव तुलाधरले ६ जनाको मात्रै राजीनामाको दावी गरे पनि ९ जनाले लिखित र १ जनाको मौखिक सहमतिमा राजीनामा गएको स्रोतले बताएको छ ।
शहीद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरु हुँदैछन् । तर, सबै रेफ्रीले राजनीनामा नदिएकाले भोलिका खेल प्रभावित नहुने महासचिव तुलाधरले बताए ।
यद्यपि, एन्फासँग वार्ता नभए भोलिका खेल नखेलाउने रेफ्रीले बताएका छन् । अहिले एन्फासँग दुई महिलासहित १२ जना रेफ्री छन् ।
एन्फाका रेफ्री डाइरेक्टर गौतम कौर छन् । यद्यपि, सबै रेफ्रीले फिफालाई गत डिसेम्बरमा फिटनेस टेस्ट दिएको र प्रत्येक वर्ष हुने बताएका छन् । अहिले लिगका खेलहरू पनि चलिरहेकाले रेफ्रीले यो समयमा फिटनेस परीक्षण दिन नसक्ने बताएको स्रोतले जानकारी दिएको छ ।
एन्फासँग रहेका १० जना फिफा रेफ्रीहरू- नविन्द्र महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ, नानीराम थापा मगर, माधव केसी, युनल मल्ल, सहदेव श्रेष्ठ, बिक्रम चौधरी र किशन कनैया यादव छन् ।