प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव – Nepal Press

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

राजीनामा नदिए महाअभियोग लगाउन देउवामाथि प्रचण्ड-माधवको दबाब

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् ।

विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणाको बहिर्गमनको पक्षमा छन् । नेपाल बार एशोसियसनले गोला प्रक्रियामा गएपछि पनि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइमाथिको अवरोध पुर्‍याउनुको उद्देश्य पनि यहि रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै शीर्ष नेताहरूबीच यसबारेमा छलफल भएको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, संचारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागी थिए ।

यता माओवादी र नेकपा एस समर्थित वरिष्ठ अधिवक्ता तथा अन्य कानून व्यवसायी र केही पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतबाट राणालाई हट्ने वातावरण बनाउन सत्ता गठबन्धनमाथि दबाब दिइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले बुधबारमात्रै बारसँगको छलफलमा असार २८ गतेको परमादेश जारी गर्न वातावरण बनाउनेहरूको गुन तिर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर