कांग्रेसको कर्णाली प्रदेश नेतृत्वका लागि दुवै पक्ष उम्मेदवार टुंग्याउने कसरतमा – Nepal Press

कांग्रेसको कर्णाली प्रदेश नेतृत्वका लागि दुवै पक्ष उम्मेदवार टुंग्याउने कसरतमा

सुर्खेत । नेपाली कांग्रेसको प्रादेशिक अधिवेशन आजदेखि सुरु हुँदैछ । कर्णाली प्रदेशको नेतृत्वका लागि संस्थापन र इतरका दुवै पक्षमा एकभन्दा बढी आकांक्षी देखिएपछि उम्मेदवार टुंगो लगाउने कसरत हुँदैछ ।

कर्णाली प्रदेश सभापतिमा चार जनाले दावी गरेका छन् । वडा तहबाटै दुई प्यानल भएपछि चुनावी प्रक्रियाबाट नेतृत्व छिनोफानो गरेको कांग्रेसमा प्रदेश सभापतिमा पनि त्यस्तै हुने निश्चित छ । ७ सयभन्दा बढी प्रतिनिधिले मतदान गरेर कर्णालीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

कर्णालीमा संस्थापन समूहबाट राजीवविक्रम शाह र ललितजंग शाही दाबेदार देखिएका छन् । संस्थापनइतर समूहबाट युवा नेता भूपेन्द्रजंग शाही र पूर्वसांसद दीपकजंग शाह प्रदेश सभापतिका प्रमुख दाबेदार हुन् ।

दुवै समूह उम्मेदवार टुग्याउने कसरतमा छन् । संस्थापन समूहबाट आकांक्षीहरूको व्यवस्थापनका लागि महामन्त्री पूर्णबहादुर खड्का सक्रिय भएका छन् । देउवाले जाजरकोटका पूर्वसभासद राजीवविक्रम शाहलाई प्रदेश सभापति बनाउन चाहेका छन् भने खड्का जुम्लाका पूर्वसभासद शाहीलाई बनाउने कसरतमा छन् ।

शाहीले महाधिवेशन प्रक्रिया सुरु हुनुअघि समूह परिवर्तन गरेका हुन् । अर्कोतर्फ संस्थापनइतर समूहका उम्मेदवार छनोटका लागि केन्द्रीय सदस्य हृदयराम थानी सक्रिय भएका छन् । तर भुपेन्द्र र दिपकजंगमध्ये कसलाई सभापति बनाउने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । थानी निकट स्रोतका अनुसार उनी दीपकजंग शाहलाई सभापतिको उम्मेदवार बनाउन चाहन्छन् । उनले सोहीअनुसार लविङ गरिरहेका छन् । तर कालीकोटका भुपेन्द्र पनि सभापति नछोड्ने मुडमा छन् । जसले गर्दा थानी अप्ठ्यारोमा परेका छन् ।

यसपटक कर्णाली प्रदेशमा संस्थापन समूह नै बलियो देखिएको छ । प्रदेशका दशमध्ये आठ जिल्लाको नेतृत्व संस्थापन समूहले जित्दा संस्थापनइतर समूहले दुई वटा जिल्लामा मात्र जित हात पारेको छ । जिल्ला नेतृत्वसँगै प्रतिनिधिमा पनि संस्थापन पक्ष अगाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर