दुई वर्षमा बन्ने पुल सात वर्षमा एक ढलान, फेसबुकमा ठेकेदार हराएको सूचना ! – Nepal Press

दुई वर्षमा बन्ने पुल सात वर्षमा एक ढलान, फेसबुकमा ठेकेदार हराएको सूचना !

काठमाडौं । विकास-निर्माणका कामहरूमा ठेकेदारले गर्ने लापरवाही र ढिलासुस्तीबारेको जनगुनासो कुनै नयाँ कुरा होइन । यसको समाधान खोज्न नयाँ तौरतरिका अपनाउन थालिएका छन् ।

स्याङजाका युवा हरि ढकालले बुधबार सामाजिक सञ्जालमा ‘ठेकेदार हराएको सूचना’ पोष्ट गरे । आँधिखोला गाउँपालिकाअन्तर्गत आँधिखोलाको पुल ७ वर्षदेखि अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भन्दै खोजी गरिदिन उनले सूचनामा अपिल गरेका छन् ।

उनीमात्र होइन आधिखोला गाउँपालिकाका सबै स्थानीयवासी ७ वर्षदेखि पुल नबनेपछि आजित भएका छन् । नेपालको मात्र नभइ दक्षिण एसियाकै पहिलो होमस्टे सिरुवारी जोड्ने आँधिखोलाको पुल निर्माणकार्य अलपत्र पर्दा होमस्टेमा पुग्न समस्या भइरहेको छ । आधा काम छाडेर ठेकेदार पूर्णबहादुर तामाङ र सहायक ठेकेदार ऋषिराम गौतम सम्पर्कविहीन भएका हुन् । फलतः २ वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि पूरा भएको छैन ।

दुई वर्षभित्र बनिसक्ने भन्दै २०७२ मा पुल निर्माणको लागि ठेक्का लागेको थियो । पुल निर्माणको लागि रामेछापका पूर्णबहादुर तामाङ (कान्छाराम) ले ठेक्का पाएका थिए । उनी नेपाली कांग्रेस रामेछापका सभापतिसमेत हुन् । तर, ठेक्का पाए पनि पुल निर्माणको काम गरेनन् उनले । बरु आफूले पाएको ठेक्का अर्का ठेकेदार ऋषिराम गौतमलाई जिम्मा लगाए । उनी नेकपा एमाले कास्कीका नेता हुन् ।

गौतमले पनि काम अगाडि बढाएनन् । ठेक्का पाएको दुई वर्ष हुन लाग्दा समेत काम शुरु नगरेपछि स्थानीयहरू ठेकेदारलाई खोज्ने कागज गरेर काम अगाडि बढाउन सहमत भए ।

सात करोड लागतमा बन्ने पुल हाल एक ढलानमात्रै भएको छ । स्थानीयले बारम्बार पुल बनाउन आग्रह गरे पनि ठेकेदारले काम नगरेको स्थानीय हरस् ढकालले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामीले पटक-पटक ठेकेदारलाई सम्पर्क गरेर आग्रह गर्‍यौं । हारगुहार गर्दा पनि भर्खरै एक ढलान सकिएको छ ।’

एक ढलान गरेपछि फेरि ठेकेदार सम्पर्कविहीन भएका छन् । ढकालका अनुसार एउटा पिल्लर राखेपछि ठेकेदार सम्पर्कविहीन हुने गरेका छन् । पटक-पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि बाध्य भएर ठेकेदार हराएको सूचना निकालेर खोजी अभियानै चलाउनुपरेको उनले बताए ।

हामीले यस विषयमा बुझ्न ठेकेदार गौतमसँग सम्पर्क प्रयास गरे पनि सफल भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर