जसपा मधेश कमिटीको पदाधिकारी घोषणा, अध्यक्षमा रामबाबु – Nepal Press

जसपा मधेश कमिटीको पदाधिकारी घोषणा, अध्यक्षमा रामबाबु

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश कमिटी (प्रदेश २) को अध्यक्ष संघीय सांसद रामबाबु यादवलाई बनाएको छ ।

आज जनकपुरस्थित पार्टी कार्यालयमा तत्कालिन मधेश प्रदेश कमिटीका अध्यक्ष एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पत्रकार सम्मेलन गरेर मधेश प्रदेश कमिटीका अध्यक्षसहितका पदाधिकारी घोषणा गरेका हुन् । अध्यक्ष बनेका यादव बारा क्षेत्र नम्बर ३ का निर्वाचित संघीय सांसद हुन् ।

पार्टीको विधानअनुसार प्रदेश कमिटीको पाँच उपाध्यक्ष, एकजना मुख्यसचिव, चारजना सचिव र एकजना कोषाध्यक्ष पनि चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादव चयन भएका छन् ।

मुख्य सचिवको जिम्मेवारी दिनेशकुमार यादव पाएका छन् भने सचिवमा असुफ अलि, निरा साह र शैलेश कुमार साहलाई बनाइएको छ । रेणु यादव कोषाध्यक्षमा दोहोरिएकी छन् ।

केही दिनअघि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा बसेको जसपाको बैठकले मधेश कमिटीको पदाधिकारी घोषणा गर्ने जिम्मैवारी तत्कालिन अध्यक्ष एवं मन्त्री विजय यादवलाई दिइएको थियो । सदस्यहरू भने पछि घोषणा गर्ने बताइएको छ ।

नेता व्यवस्थापन गर्न जसपाले ‘एक व्यक्ति, एक पद’ को नीति अवलम्बन गरेको छ । सोहीबमोजिम पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य रहेकाले मन्त्री यादव मधेश प्रदेश कमिटीको नेतृत्व छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर