लुम्बिनीमा अझै करिब चार हजार एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा – Nepal Press

लुम्बिनीमा अझै करिब चार हजार एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

रुपन्देही । लुम्बिनी प्रदेशमा एचआईभी एड्सको जोखिम कायमै रहेको तथ्यांकले देखाएको छ । अहिले पनि १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार ९ सय १२ रहेको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।

सरकारी तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा १ हजार ४ सय ८७, बाँकेमा ५ सय १०, कपिलवस्तुमा ४ सय ७८ दाडमा ३ सय २५ पाल्पामा २ सय ९४ नबलपरासी पश्चिममा २ सय ६६ गुल्मीमा १ सय ७५ वर्दियामा १ सय ३२ अर्घाखाँचीमा १ सय ९ प्युठानमा ९२ रोल्पामा ४४ जना एचआईभी संक्रमित रहेका छन् । तर बालबालिकामा भने संक्रमण घटेको छ ।

सन् २०१० मा २ सय १५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेका अनुसार संक्रमित बिरामीको मृत्युदर भने घटेको छ ।

सरकारले एचआईभी एड्स नियन्त्रणका लागि चालेका उपायले सङ्क्रमण दर घटेको उनले बताए । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र छन् । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआईभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको सरकारी दाबी छ ।

सरकारले एचआईभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आएको र प्रदेशका १२ जिल्लामा नै यो सेवा भएको अधिकृत पाण्डेले वताए । उनका अनुसार ३ हजार ९ सय १२ जनाले नियमित एआरभी सेवा औषधि सेवन गरिरहेका छन् ।

सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको र सङ्क्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशतभन्दा बढी र सामान्य जनसंख्या एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको पाण्डेले बताए ।

त्यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २–२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।

सरकारले सन् २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ । लुम्बिनी प्रदेशमा ८७ हजार ६ सय ७२ जना महिलाहरुको पिएमटीसिटी परिक्षण गर्दा १४ जना नयाँ भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

लुम्बिनी प्रदेशका स्वाथ्य निर्देशक डा. विनोदकुमार गिरीले सचेतना वृद्धि नै संक्रमणदर रोक्ने प्रमुख उपाय भएको बताए । ‘असमानता हटाऔं, एड्सको अन्त्य गरौं’ भन्ने मूल नारासहित यस बर्षको ३४ औं विश्व एड्स दिवस विभागीय मन्त्रालय तथा यस क्षेत्रमा काम गर्ने संघसंस्थाले मनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर