फिल्म निर्माता अर्जुन कुमारलाई प्रश्न : के ‘चपली हाइट ३’ ले बक्सअफिस चलायमान बनाउला ? – Nepal Press

फिल्म निर्माता अर्जुन कुमारलाई प्रश्न : के ‘चपली हाइट ३’ ले बक्सअफिस चलायमान बनाउला ?

काठमाडौं । आगामी पुस २ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’को उद्देश्य हुनेछ : बक्सअफिसलाई चलायमान बनाउनू । कोरोना महामारीको कारण थलिएको नेपाली बक्सअफिस लयमा फर्कन संघर्ष गरिरहेको बेला हिट फिल्मको तेस्रो सिक्वेल रिलिज हुँदैछ ।

के बक्सअफिसलाई चलायमान बनाउन अर्जनु कुमारको क्राइम थ्रीलर फिल्म सफल रहला ? नेपाल प्रेससँग कुरा गर्दै निर्माता कुमारले चपली हाइट तीनको बक्सअफिस सफलताबारे तीनवटा आधारहरु प्रस्तुत गरे । पहिलो : यो हिट फिल्मको फ्रेन्चाइज हो । दोस्रो : यसले प्रशस्त मनोरञ्जन दिनसक्छ र तेस्रो : दर्शक हलसम्म फर्किन अधैर्य छन् । निर्माता अर्जुन कुमारले प्रस्तुत गरेका यी आधार कत्तिको सशक्त छन् भन्ने कुरा रिलिजकै मितिमा थाहा हुनेछ ।

दर्शकले यस्तो खाले क्राइम थ्रीलर फिल्ममा इन्जोय गर्न सक्ने दावी उनको छ । फिल्मको ट्रेलरबाट दर्शकले सकारात्मक प्रतिक्रिया दिएकोमा निर्माता खुशि छन् । तर, महामारीको समयमा ओटीटीमा विश्वस्तरीय फिल्मको स्वाद चाखेका दर्शकलाई हलसम्म फर्काउन सक्नु यो फिल्मको प्रमुख चुनौति हो ।

कोरोनाकै कारण यसअघि रिलिज स्थगन गरेको चपली हाइटको यो श्रृंखलालाई हलमै रिलिज गर्न बनाएको निर्माता कुमारको दावी छ । उनी ओटीटी विरोधी देखिए । उनले भने, ‘नेपालमा ओटीटी प्लेटफर्म तयार छैन । ओटीटी टिक्छ भन्नु सपना मात्र हो ।’

निर्माता अर्जुन कुमारलाई एउटै डर छ । त्यो हो : कोरानाभाइरसको नयाँ भेरिएन्टको कारण पुनः प्रतिबन्धहरु लागू हनसक्छन् कि भन्ने । महामारी कालको फिल्म निर्माणमा स्टुडियो शैलीको अवधारणा लागू हुनसके पैसा उठाउन सकिने उनको ठम्याइ छ । ‘डर भनेको फेरि आउन सक्ने प्यान्डेमिक नै हो’ उनी सुनिए । यस्तो बेला, हिन्दी डब गरिएका फिल्म ल्याएर नेपाली निर्मातालाई तर्साउन नहुने उनी बताउँछन् ।

निर्देशक निकेश खड्का पनि निर्माता कुमारकै भनाइमा सहमत छन् । भन्छन्, ‘म आफ्नो कन्टेन्टमा विश्वस्त छु । क्राइम थ्रीलर जनरामै फिल्म बनाउनु रिस्क थियो तर, फिल्म रिलिजको टाइमिङलाई लिएर रिस्क महसुस गरेको छु ।’ महामारीको समयमा नेपाली दर्शकले नेटफिल्क्सजस्ता अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मममा मनी हेइस्टजस्ता सिरिजलाई रुचाएकाले चपली हाइट तीन पनि रुचाउलान् कि भन्ने आशा निर्देशक खड्कालाई छ ।

अर्कोतर्फ, नेपाली हिट फिल्मको टाइटललाई लिएर सिक्वेल बनाउनु सजिलो काम हुँदै होइन । ‘अहिले पनि मैले टाइटलबाटै दबाब महसुस गरेको छु’ निकेश भन्छन्, ‘भाग्यमानी यसअर्थमा छु कि चपली हाइटको ब्रान्ड र लिगेसीलाई निर्देशन गर्ने मौका पाएको छु ।’

यसै महिना नेपाली बक्सअफिसमा सुपरहिट बलिउड फिल्म सूर्यवंशी र यसैसाता प्रदर्शन भएको सलमान खानको अन्तिम फिल्मको कमाइमा केही भिन्नता देखिन्छ । यस्तोमा, चपली हाइटले यी दुबै फिल्मबाट मध्यमार्गी बाटो पछ्याउन सक्ने ठम्याइ उनको छ ।

निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्काले यसअघि फाटेको जुत्ता प्रोेजेक्टमा सहकार्य गरेका छन् । निकेशको निर्देशकीय कामबाट आफू सन्तुष्ट रहेको निर्माता कुमार बताउँछन् ।

नेपाली फिल्म समीक्षकमाझ चर्चा कमाएका अभिनेता महेश त्रिपाठी चपली हाइट तीनको प्रमुख भूमिकामा छन् । फिल्ममा उनलाई अपराध अनुसन्धानमा सक्रिय प्रहरी अफिसरको भूमिकामा देख्न सकिन्छ । ‘फिल्मभित्र रहेको ग्रे क्यारेक्टरलाई दर्शकले रुचाउनुहुनेछ । यसमा मानवीय पक्षका धेरै आयाम लुकेका छन्’ नेपाल प्रेसलाई उनले भने ।

फिल्मभित्र कलाकारको भीड भएपनि दर्शकलाई भने अन्यौल नतुल्याउने उनको भनाई छ । ‘दर्शकलाई कन्फ्युज तुल्याउनु नै फिल्मको मुख्य उद्देश्य हो’ त्रिपाठी सुनिए, ‘यो फिल्मसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । यसले मेरो करियरमा फाइदा पुग्ने सम्भावना देख्छु ।’

महिला पात्र नै फिल्मका हिरो

चपली हाइट यसको प्रिक्वेलदेखि नै नारीप्रधान रहँदै आएको छ । केन्द्रीय द्वन्द्वमा महिला रहेकाले निर्माता अर्जुन कुमारले फिल्मको हिरो नै महिला पात्र रहेको बताए । स्वस्तिमा खड्का र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।

‘महिलाहरु शक्तिशाली भएको फिल्म बनाउने निर्माता म मात्र हुँ’ निर्माता अर्जुन कुमार भन्छन्, ‘हाम्रो फिल्मको हिरो नै महिला हो ।’ ट्रेलरमा देखाइएजस्तो र चर्चा गरिएजस्तो महिलालाई कमजोर तुल्याउने उद्देश्य फिल्ममा नरहेको बरु परिस्थितीअनुसार चित्रण गरिएको उनको भनाई छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *