प्रमुख प्रशासकीय अधिकृत टिकाउनै कठिनः दुई महानगरपालिका र चार उप–महानगरपालिकामा हेरफेर – Nepal Press

प्रमुख प्रशासकीय अधिकृत टिकाउनै कठिनः दुई महानगरपालिका र चार उप–महानगरपालिकामा हेरफेर

काठमाडौं । सरकारले दुई महानगरपालिका र चार उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । बिहीबार संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै ४९ जना सहसचिवको सरुवा गर्ने क्रममा उक्त हेरफेर गरेका हुन् ।

पोखरा र वीरगञ्ज महानगरपालिका तथा बुटवल, धरान, जनकपुर र कलैया उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । रुपन्देहीको बुटवल उप–महानगरपालिमा शिवप्रसाद रेग्मीको स्थानमा विरेन्द्रदेव भारती गएका छन् । रेग्मीले त्यहाँ जिम्मेवारी सम्हालेको आठ महिना मात्रै पुगेको थियो । उनलाई संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउने रेग्मी पहिलो सहसचिव थिए । जनप्रतिनिधि आएको चार वर्षको अवधिमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएकोमा चारजना उपसचिव थिए ।

कतिपय प्रमुख प्रशासकिय अधिकृत ६ महिना पनि नबसेर सरुवा भएको उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको भन्ने कुरा तपाईंबाटै थाहा पाएँ । को आउँछ को जान्छ, अत्तोपत्तो नै हुदैँन । संघीय सरकारले मनपरी गरिरहेको छ । जसले गर्दा हामीलाई काम गर्न एकदमै गाह्रो भइरहेको छ ।’

यस्तै वीरगञ्ज महानगरपालिकामा प्रदिपकुमार निरौलाको स्थानमा निश्चलराज पाण्डे आएका छन् । निरौलाको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । आयोगमा पनि करिव एक महिनाअघि मात्रै विश्वप्रसाद आर्यालको सरुवा भएको थियो । उनले जिम्मेवारी सम्हालेको एक महिना बित्न नपाउदै निरौला आएका हुन् । निरौला पनि १८ दिनपछि अर्थात मंसिर २८ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउने रेग्मी पहिलो सहसचिव थिए । जनप्रतिनिधि आएको चार वर्षको अवधिमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएकोमा चारजना उपसचिव थिए ।

वीरगञ्ज महानगरपालिकामा पनि जनप्रतिनिधि आएको साढे ४ वर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । महानगरपालिकाका प्रमुख विजय सरावगी प्रमुख प्रशासकीय अधिकृत स्थिर नभएकोप्रति चिन्तित छन् ।

उनले भने, ‘कोही त २० दिन पनि बस्दैनन् । जबसम्म स्थानीय तहबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था हँुदैन, तबसम्म स्थानीय तहमा जनप्रतिनिधिलाई काम गर्न गाह्रो छ ।’

मधेशतिरका स्थानीय तहमा अधिकांश प्रमुख प्रशासकीय अधिकृत आउनै नरुचाउने र आए पनि धेरै नटिक्ने उनको भनाइ छ ।

प्रमुख सरावगीले थप्दै भने, ‘प्रमुख प्रशासकिय भइहाले पनि लामो समय विदामा बस्ने र कनिष्ठ कर्मचारीलाई निमित्त दिएर जान्छन् । यसरी जाँदा आर्थिक अधिकार दिँदैनन् । काम गरेनन् भनेर हाम्रो विरोध हुन्छ ।’

यस्तै धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद पौडेल गएका छन् । त्यहाँ रहेका बिदुरप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा सरुवा भएको छ । उनी उपमहानगरपालिकामा करिव दुई वर्षदेखि कार्यरत थिए ।

उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीका अनुसार साढे ४ वर्षको अवधिमा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाँच जना फेरिएका छन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘हालका प्रमुख प्रशासकीय अधिकृत र यसअघिको एक जना मात्र करिव १ वर्ष नाघेका हुन् । नभए अधिकांश ६ महिना पनि काटेका छैनन् ।’

६/६ महिनामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हँुदा उपमहानगपालिकाले धेरै समस्या भोग्नु परेको उपप्रमुख भण्डारीको गुनासो छ । उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत छिटो छिटो फेरिएका कारण उपमहानगरपालिकाको कार्यसम्पादनमा नै समस्या भइरहेको छ । यसपटक भने लामो समयसम्म प्रमुख प्रशासकिय अधिकृत बस्नुभएको छ ।’

मधेशतिरका स्थानीय तहमा अधिकांश प्रमुख प्रशासकीय अधिकृत आउनै नरुचाउने र आए पनि धेरै नटिक्ने उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयपछि जनकपुर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकतृका रुपमा सहसचिवलाई पठाएको छ । दरबन्दी सहसचिवको भए पनि त्यहाँ प्रमुख प्रशासकीय अधिृकतका रुपमा उपसचिव खटाईदै आएको थियो ।

बिहीबारको प्रमुख प्रशासकीय अधिकृतमा प्रधुम्नप्रसाद उपाध्यायको पदस्थापन भएको छ । उक्त उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने उनी दोस्रो सहसचिव हुन् ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अहिले उपसचिव बिनोदकुमार खड्का भए पनि उनी तिहारदेखि कार्यालयमा हाजिर नभएको उपप्रमुख मिश्रले नेपाल प्रेससँग बताइन् ।

उनले भनिन्, ‘उपमहानगरपालिकामा हामीले नेतृत्व सम्हालेदेखि अहिलेसम्म सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन् । पाँचजना उपसचिवलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।’

यस्तै बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिर्थराज चिलवाल गएका छन् । उक्त जिम्मेवारीमा एक पद मुनिका उपसचिव नाथु शाह केही समयदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

यस्तै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत बलाराम रिज्याल गएका छन् । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका महेश बरालको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत सरुवा भएको छ । उनी १६ महिनादेखि त्यहाँ कार्यरत थिए ।

महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर पाँचका वडा अध्यक्ष धनबहादुर नेपालीका अनुसार अहिले भर्खरै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्नेमा पर्छन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामी जनप्रतिनिधि आएको साढे ४ वर्ष पुग्यो । यति अवधिमा अब आउन लागेका प्रमुख प्रशासकीय अधिकृत सातौं नम्बरका प्रमुख प्रशासकीय अधिकृत हुन् । धेरैजसो प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पनि बसेका छैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर