महाधिवेशन उद्घाटनस्थलः ५० लाखको मञ्च भत्काइयो, गैंडाको मस्कट नदी किनारमै (भिडिओ) – Nepal Press

महाधिवेशन उद्घाटनस्थलः ५० लाखको मञ्च भत्काइयो, गैंडाको मस्कट नदी किनारमै (भिडिओ)

मञ्च बनाउन एक हप्ता, फुकाल्न ३ दिन

चितवन । यहि १० गते एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनसभामा खचाखच भरिएको नारायणी नदि किनार यतिबेला सुनसान छ । उद्घाटन समारोहका लागि करिब ५० लाख लागतमा बनाइएको विशिष्ट प्रकारको मञ्च पनि भत्काइएको छ ।

उद्घाटनका दुई दिनपछि हामी पुग्दा केही स्वयम्सेवकहरु मञ्चका सामग्रीहरुको व्यवस्थापनमा जुटिरहेका थिए । स्वयमसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च आज दिनभरिमा पूर्णरुपमा हटाइने बताए ।

श्रेष्ठका अनुसार रेडक्रस भवन, स्कुल नजिकैका २ प्रवेशद्वार बाहेक अरु सबै हटाइएको छ । ‘दुई सेल्फी प्वाइन्ट बाहेक अन्य सबै अस्थायी संरचना हटाएका छौँ,’ उनले भने, ‘नदि किनारमा आगामी दिनमा सजिलै मेला महोत्सव गर्न मिल्नेगरी चौर पनि सम्याएर छाडेका छौँ ।’

नदी किनार छेउको ढुंगेबगरमा माटो–बालुवा राखेर रोलिङ गरेर बनाइएको समथर भू–भागमा करिब ५ सयजना बस्न मिल्ने स्टेज बनाइएको थियो । एउटा समारोहका लागि अत्यधिक ठूलो र महंगो संरचना बनाएको भनेर सामाजिक सञ्जालमा एमालेले आलोचना पनि खेप्नु परेको थियो ।

मञ्च व्यवस्थापनको जिम्मा पाएको निजी क्षेत्रका डेकोर स्टेसनका फिल्ड इन्चार्ज विष्णु भण्डारीले १४ कन्टेनरमा सामानहरु काठमाडौं पठाइसकिएको बताए ।

‘१० गते रातिदेखि नै स्टेज फुकाल्ने काम गरेका थियौँ,’ उनले भने, ‘अब १० प्रतिशत काम बाँकी छ, करिब २ कन्टेनर सामान होलान् ।’

भण्डारीका अनुसार १५ हजार पिस फलामका डण्डी, ३० हजार पिस आल्मुनियमका डण्डी, १५ सय पिस प्लाई प्रयोग भएको थियो ।

‘भुईंमै बिम कसेजस्तै गरेर वेल्डिङ र नट कसेर स्टेज बनाएका थियौं,’ उनले भने, ‘बनाउन एक हप्ता लाग्यो, फुकाल्न ३ दिन लाग्यो ।’

उनका अनुसार स्टेज बनाउन दैनिक १ सय ५० जना मजदुरहरु संलग्न थिए । उद्घाटनसत्र सकिएपछि सुनसान बनेको नदी किनारमा स्टेज सुरक्षा गर्न ३० जना खटिएका थिए ।

स्टेज निर्माणमा खटिएका सर्लाही मलंगवाका सुनिल यादवले ३ गतेदेखि १२ गतेसम्म हरेक राति २ घण्टामात्रै सुतेर काम गरिएको सुनाए ।

‘नजिकै टेण्ट बनाएका थियौं, आलोपालो खाना खान्थ्यौ, सुत्थ्यौं,’ उनले भने, ‘लगातारको कामले सुन्दर स्टेज पनि बन्यो, स्याबासी पायौं ।’

मञ्च निर्माणमा खटिएका रौतहटका दिपेन्द्र यादवले यति धेरै मान्छे आएको कार्यक्रम पहिलोपटक देखेको बताए ।

‘मञ्च बनायौं, तर यति धेरै कहिल्यै देखेको थिएनौं,’ उनले भने, ‘अब पोखराको कार्यक्रममा स्टेज बनाउन भोलि जान्छौं ।’

यही टिमले गोदावरीमा भएको एमालेको विधान महाधिवेशनका बेला पनि स्टेज बनाउने काम गरेको थियो ।

गैंडाको मस्कट किनारमै

महाधिवेशनको प्रचारप्रसार गर्न बनाइएको गैंडाको मस्कट नदी किनारमै छोडिएको छ । नदि किनार घुम्न आउनेहरु सोही फाइबरको मुर्तिसँग सेल्फी खिचिरहेका छन् । पिठुवाका सागर पुडासैनी, विशाल न्यौपाने र कृतिक दाहाल त्यहीँ भेटिए ।

‘१० गते नारायणी पुलतिरबाट हेरेका थियौं,’ सागरले भने, ‘आज नजिकैबाट मञ्च हेर्न आएको, हटिसकेछ । मस्कट चाहिँ रहेछ ।’

गैंडाको मस्कटको मूर्ति करिब साढे ३ लाखमा बनेको हो । यो अब नदि किनारको नयाँ सेल्फी प्वाइन्टका रुपमा रहनेछ । श्रमिकले पृथ्वी उचालेको आकृतिको आल्मुनियमको प्रतिमा पनि सेल्फी प्वाइन्टका रुपमा चिनिन थालेको छ ।

भारतको महाराजगञ्ज सिसवाबाट आएका तबरेज खाँ पनक साथीहरूसँग नदी किनार अवलोकन गर्दै थिए ।

‘नारायणगढको एक घरमा बिहेमा बाजा बजाउन आएका थियौं, यहाँ हेर्न लायक राम्रो ठाउँ रहेछ,’ उनले भने, ‘घुम्दा आनन्द लाग्यो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर