सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी ! – Nepal Press
एमाले महाधिवेशन

सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी !

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि अन्तिम कसरत भइरहँदा चुनाव हुने सम्भावना टर्दै गएको छ । बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको हो ।

हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ । अध्यक्षले

हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमाजस्तै ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताए । महाधिवेशन प्रतिनिधिहरुमा अधिकांस ओलीकै प्राधिकारको पक्षमा छन् । त्यसैले उनले नाम घोषणा गर्दा बदर हुने सम्भावना नगण्य देखिएको छ ।

भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन् । कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ । तर, पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ । यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना पनि छ ।

यतिबेला सबै नेता तथा कार्यकर्ता ओलीबाट आउने सूचीको पर्खाइमा छन् । अहिलेसम्मको परिदृश्य हेर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सार्ने देखिएको छ । अन्य पदाधिकारीबारे अझै प्रष्ट खाका आइसकेको छैन ।

पार्टीभित्र एकल वर्चश्व भएकाले ओलीलाई आफ्ना नीति, विचार र निर्णय अनुमोदनका लागि समस्या छैन । हिजोको बन्द सत्रले सर्वाधिकार दिएपछि उनी थप शक्तिशाली भएका छन् । अब सबै नेताहरु नेतृत्वमा समेटिनका लागि ओलीमै निर्भर छन् ।

पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहेका धेरै नेताहरु अझै पनि अलमलमा देखिएका छन् । आफू पार्टीको कुन कमिटी र पदाधिकारीमा परिने हो भन्ने व्यग्रता उनीहरुलाई छ ।

केन्द्रीय कमिटीमा दोहोरिन चाहेका एक सदस्यले भने, ‘को मान्छे कसरी समेटिन्छ भन्ने केही पनि थाहा छैन । अध्यक्षले चाहे केन्द्रीय कमिटीमा परिएला । हेरौं अध्यक्षले के ल्याउनुहुन्छ ।’

महाधिवेशन स्थलामा भेटिएका यस्ता धेरै नेताहरु छन्, जसलाई आफू के हुन्छु भन्ने थाहा छैन् । ओलीले समेट्लान कि नसमेट्लान भन्ने प्रतीक्षा धेरैमा छ ।

एमालेले १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीन आयोगका पदाधिकारी र सदस्य महाधिवेशनबाट चुन्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर