दक्षिण अफ्रिका तथा ट्रान्जिट मुलुकबाट आउने यात्रुले सातदिन क्वारेन्टिनमा बस्नुपर्ने – Nepal Press
ओमाइक्रोन भेरिएन्ट

दक्षिण अफ्रिका तथा ट्रान्जिट मुलुकबाट आउने यात्रुले सातदिन क्वारेन्टिनमा बस्नुपर्ने

हङकङसँगको उडानबारे निर्णय गर्न भोलि सीसीएमसीसीको बैठक बस्दै

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि विभिन्न देशले दक्षिण अफ्रिकी मुलुकसँग हुने हवाइ उडानमा प्रतिबन्ध लगाएका छन् भने कतिपयले परीक्षणमा कडाइ गरेका छन् ।

नेपालले पनि सम्भावित संक्रमण रोकथामका लागि दक्षिण अफ्रिकाबाट आउने यात्रुमा परीक्षण गर्दै निगरानी बढाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाइ यात्रुलाई अनिवार्य एकसाताको लागि क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको बताए ।

‘दक्षिण अफ्रिकासँग नेपालको सीधा हवाइ सम्पर्क त छैन तर, त्यस क्षेत्रबाट आउने यात्रुहरुलाई विमानस्थलमा अनिवार्य निगरानी परीक्षण र क्वारेन्टिमा पठाउँछौं । पजेटिभ आयो भने नमुनाहरुको सिक्वेन्सिङ पनि पठाउँछौं’ पौडेलले भने ।

खोप नलगाइ आउने यात्रुलाई नेपालले एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याएको छ भने खोप लगाइसकेकालाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छैन । विदेशबाट आउने यात्रुले विमानस्थलमा अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने नियम चाहिँ छ ।

दक्षिण अफ्रिकामा यसैसाता संक्रमण पुष्टि भएको कोरोनाको नयाँ प्रजाति ओमाइक्रोन अहिले नेपालसँग सीधा हवाइ सम्पर्क भएको हङकङमा समेत पुष्टि भएको छ । दक्षिण अफ्रिकी मुलुकहरुसहित बेल्जियम, जर्मनी, इजरायलमा संक्रमण पुष्टि भैसकेको छ ।

हङकङसँग सीधा उडान भएकाले पनि नेपाललाई जोखिम रहेको प्रवक्ता पौडेलले बताए । उनका अनुसार हङकङसँगको हवाइ उडानलाई के गर्ने भन्नेबारे निर्णय गर्न आइतबार बिहान बस्ने कोभिड संकट व्यवस्थापन समन्वय समितिको बैठकले निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको उक्त समितिकी प्रवक्ता सुनिता नेपालले आइतवारको बैठक नियमित भएपनि दक्षिण अफ्रिकामा देखिएको भरिएन्टबारे छलफल हुने बताइन् ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालको आकाश खुला भएकाले नयाँ भेरिएन्टको जोखिम पनि रहेको बताए । संक्रमण रोकथामका लागि विदेशबाट आउने यात्रुलाई कडाइका साथ स्क्रिनिङ गर्नुपर्ने सुझाउँदै उनले खोप लगाउने कार्यलाई तीव्रता दिनुपर्ने बताए ।

नयाँ भेरिएन्टको चरित्र र प्रवृत्ति बुझ्न अझै समय चाहिने भएकाले नेपालीहरुले थप सतर्क हुनुपर्ने बेला भएको उनले बताए । परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै उनले भारतमा नयाँ भेरिएन्ट संक्रमण पुष्टि भए नेपाललाई थप चुनौति भएको उनले बताए ।

अहिले राजनीतिक दलहरुको भेला र सम्मेलनमा सकेसम्म कोभिड प्रोटोकल पालना गर्न र खोप लगाएकोलाई मात्र सहभागी गराउनुपर्ने उनको सुझाव छ । जनसंख्याको लक्षित वर्गले खोप नलगाइसकेको बताउँदै उनले नयाँ भेरिएन्टसँग सतर्क हुनुपर्ने बेला आएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर