च्यासलको पहिलो जितमा रुपेशको निर्णायक गोल – Nepal Press

च्यासलको पहिलो जितमा रुपेशको निर्णायक गोल

काठमाडौं । रूपेश बर्तौलाको निर्णायक गोलप्रेरित च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबलाई १–० को नतिजामा पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

पहिलो चरणमा थ्री–स्टार क्लबसँग ३–० को नजितामा पराजित भएको च्यासलले दोस्रो चरणमा विभागीइ प्रतिद्वन्दीमाथि संघर्षपूण जित निकालेको हो ।

रूपेशले ४९औं मिनेटमा पेनाल्टी बक्सको दायाँ ‘एज’बाट गोलपोस्टको बायाँ साइडमा सुन्दर फिनिस गरेका थिए । कमल श्रेष्ठले दिएको पासलाई नियन्त्रणमा लिएर एपीएफका दुई डिफेन्डरविरुद्ध सफल ड्रिबल गर्दै रूपेशले उत्कृष्ट गोल गरेका थिए ।

सोही गोल च्यासललाई सिजनको पहिलो जित र तीन अंक दिलाउन पर्याप्त बन्यो । खेलमा गोलका लागि दुवै तर्फबाट निरन्तर प्रयास भए पनि कमै मौका सृजना भएका थिए । तीमध्ये कुनै पनि मौका गोलमा परिणत भएनन् ।

सुरुआतदेखि नै विभागीय टोलीमाथि आक्रणको प्रयास गरेका च्यासलका कमल श्रेष्ठले १४औं मिनेटमा प्रहार गरेको फ्रि–किक एपीएफका गोलकिपर राजु योगीले पञ्च आउट गरिदिएका थिए ।

च्यासलका इटालियन फरवार्ड किाश मेरागलियाले १७औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडीलाई लागेर फर्किएको थियो । सोही रिबाउन्ड बलमा च्यासलका मिडफिल्डर अजित गुरुङले गरेको प्रहारमा पुनः एपीएफका गोलकिपर राजु बाधक बने ।

एपीएफका श्याम नेपालील २८औं मिनेटमा बायाँतर्फबाट गरेको क्रसलाई च्यासलका गोलकिपर अर्पण कार्कीले असफल पारिदिएका थिए ।

आशिष लामाले पेनाल्टी बक्स ठीक अगाडिबाट ३१औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको खेल सकिन ४ मिनेट बाँकी रहँदा च्यासलका कमलले प्रहार गरेको कर्नरमार्फत बनेको ‘मुभ’मा फरवार्ड विकाशले हेडरमार्फत गरेको प्रहार एपीएफका डिफेन्डर राजन गुरुङले गोल लाइन नजिककै रोकेका थिए ।

सोही ‘रिबाउन्ड’ बलमा सुसन लामाको प्रहार एपीएफका अर्का डिफेन्डर सनिस श्रेष्ठले रोकेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एपीएफका नबिन लामाले पेनाल्टी एरिया बाहिरबाट गरेको फितलो प्रहार च्यासलका गोलकिपर अर्पणले सहजै नियन्त्रणमा लिएका थिए ।

च्यासलका क्यामरुनियन फरवार्ड मौसाले ५७औं मिनेटमा बायाँ तर्फबाट गरेको प्रहारमा डिफ्लेक्ट भएर बाहिरिएको थियो ।

रूपेश बर्तौलाको फ्लिकमा डिफेन्डर केच यानिकले ६६औं मिनेटमा ६ यार्ड बक्सको बार्या तर्फबाट गरेका प्रहार टार्गेटमा नपर्दा च्यासलले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । खेलपछि एपीएफका प्रशिक्षक कुमार थापाले अन्तिम खेलको तुलनामा टोलीको प्रदर्शन सुधारिए पनि स्कोर गर्न नसक्दा पराजित हुनु परेको प्रतिक्रिया दिए ।

‘पफरमेन्स वाइज पहिलो खेलभन्दा राम्रो भएको छ,’ उनले भने, ‘हाम्रै लेभलको दुई टोलीसँग हार्नु पर्यो । कठिन अवस्था भएको छ ।’

आजको खेलमा तीन सट–एक गोल भएको र आफ्नो टोलीको प्रहारमा गोल नभएको बताए ।

‘आज अस्ति भन्दा डिफेन्सिभ राम्रो थियो । मिडफिल्ड सेटअप हुनै गाह्रो भइरहेको छ,’ उनले भने, ‘क्लबले एएफसी लाइसेन्स पाएसँगै विदेशी खेलाडीका लागि ल्याउने बाटो खुलेको छ । र, व्यवस्थापनले त्यसमा ध्यान दिन सक्ने बताए ।’

हारका बाबजुद आफूले दबाब नलिएको बरु आफू दबाब दिने स्वभावको भएको उनले बताए ।

‘म दबाब लिने मान्छे होइन, दिने मान्छे हो । अन्तिममा ४ जना फरवार्ड खेलाएर दबाब त दिएको हो । तर, गोल भएन,’ प्रशिक्षक कुमारले हाँस्दै भने, ‘गत सिजन पनि संघर्ष गरेर बचेको हो । यसपाली त्यो अवस्था नरहला भन्ने आशा छ ।’

अंक तालिकामा नजिकै रहेको टोलीसँग हार्नुपर्दा एपीएफलाई ६ अंक होइन , १२ अंक गुमाए जस्तो भएको उनले बताए ।

यस्तै, च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले आज जितका लागि खेलेको र जितेकाले टोलीबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘जित्नका लागि खेलेका थियौं । जितेपछि टोलीको ‘मोरल बुस्ट भएको छ । पहिलो खेल हारेर मोरल केही ‘लो’ भएको थियो,’ उनले भने, ‘आजको खेलमा हाम्रो टोली अस्तिभन्दा ‘अर्गनाइज्ड’ देखियो । डिफेन्सिभ पनि ।’

युवा टोली भएलकाले आक्रमण अझै तालमेल पूरा नमिलिसके पनि जित र टोलीको प्रदर्शनबाट आफू खुशी भएको प्रतिक्रिया दिए ।

‘अन्तिम खेलभन्दा टोलीको सन्तुलन पनि आज राम्रो देखिएको छ । खेलाडीले बलमा च्यालेन्जमा पनि गर्न थालेका छन्,’ उनले भने, ‘युवा टोली भएकाले लिग अगाडि बढ्दै जाँदा टोली अझै सेट हुँदै जानेमा विश्वस्त छु ।’

जितसँगै च्यासल सुरुआती दुइै खेलबाट ३ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

यस्तै, सुरुआती दुई खेलमा जित तथा अंकविहीन एपीएफ तालिकाको पुछारमा झरेको छ । १४ टोली सहभागी लिगबाट पुछारमा रहेका दुई टोली अर्को सिजन बी डिभिजन लिगमा घटुवा हुनेछन् ।

शुक्रबारदेखि सुरु भएको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोले थ्री स्टारलाई १–० को नतिजामा पराजित गरेको थियो । यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को पुनरागमन जित निकालेको थियो ।

सुरुआती दुई खेलबाट चार अंक जोडेको संकटा लिग तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट समान चार अंक जोडेको सातदोबाटो दोस्रो स्थानमा छ ।

शनिबार हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा आमने–सामने हुँदैछन् । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो भने शेर्पा संकटासँग १–१ को बराबरीमा रोकिएको थियो ।

आजको खेलमा जित हासिल गरे मनाङ २ खेलबाट ६ अंक जोड्दै पुनः शीर्ष स्थानमा फर्किने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *