एमाले पदाधिकारी चयन पेचिलाे: बरिष्ठ उपाध्यक्ष र महासचिवमा संस्थापनभित्रै रस्साकस्सी – Nepal Press

एमाले पदाधिकारी चयन पेचिलाे: बरिष्ठ उपाध्यक्ष र महासचिवमा संस्थापनभित्रै रस्साकस्सी

चितवन । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसत्रमा प्रवेश पाउन नै प्रतिनिधिहरुले लामाे प्रतिक्षा गर्नुपर्याे । सौराहामा शनिबार बिहानै सुरू हुने भनिएको बन्दसत्रमा पाँच घन्टा ढिलाइ हुनुकाे कारण भने व्यवस्थापकीय नभइ राजनीतिक थियाे ।

चुनावी टक्करबाट भन्दा सहमतिमा नेतृत्व चयन गर्नुपर्ने भन्दै समूह-समूह र अन्तरसमूहबीच भइरहेका स‌ंवाद कारण बन्दसत्रमा ढिलाइ भएको हाे। अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल प्रचार-प्रसारमा जुटिसकेका छन् र सहजै ब्याक हुने मुडमा छैनन् । तर, उनीमात्रै हाेइन, अरू नेताहरूकाे व्यवस्थापन पनि उत्तिकै पेचिलाे बनिरहेकाे छ । बरिष्ठ उपाध्यक्षका दुई आकांक्षी ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवका दुई आकांक्षी विष्णु पौडेल र शंकर पोखरेललाइ सहमतिमा ल्याउन पनि सहज देखिएकाे छैन ।

हिजो बसेको केन्द्रीय कमिटी बैठकले लिएको पदाधिकारी बढाउने, पोलिटब्यूरो थप्ने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णयले त्यो सकस समाधान हुने आशा गर्दै एमाले वृत्तमा खुसी छाएको थियो । तर, अझै पनि समस्या जहाँको त्यही देखिएको छ । आफू निकटस्थहरूलाई नै समझदारीमा ल्याउँन नसक्दा ओली सकसमा परेका छन् ।

समस्या समाधानका लागि ओलीले बरिष्ठ उपाध्यक्षका दाबेदारहरूलाई फकाउने कोसिस गरिरहेका छन् । ओलीले भविष्यमा राष्ट्रपतिमा अघि सार्ने बचन दिँदै नेम्वाङलाई बरिष्ठ उपाध्यक्ष छोडिदिन आग्रह गरिरहेका छन् ।

त्यसपछिको सकस महासचिवमा हो । ओलीको कोर टिमले पोखरेललाई महासचिवका रुपमा अघि सार्न चाहिरहेको छ । तर, नेकपामै महासचिव भइसकेका र सांगठनिक अवस्थामा मजबुत रहेका पौडेल भने कुनै पनि अवस्थामा महासचिव नछाड्ने अडानमा छन् ।

पौडेललाई पनि उपाध्यक्षमा व्यवस्थापन गर्न खोजिएको छ । तर, महासचिव आगामी उत्तराधिकारी हुने भएकाले पौडेल महासचिव छाड्ने अवस्थामा छैनन् ।

अरुबीच सहमति हुँदा सांगठनिक अवस्थाले कमजोर रावल अध्यक्षमै भिडिरहेन मुडमा छैनन् । सहमति हुने अवस्थामा उनी बरिष्ठ उपाध्यक्षमा पनि कम्प्रोमाइज गर्ने सोचमा छन् ।

तर, माथि उल्लेख गरिएका पात्रहरूबीचमा सहमति नहुँदा दुईवटा समीकरण बन्ने देखिएको छ । यस्तो अवस्थामा रावलले एउटा खेमाकाे नेतृत्व लिएर शक्ति बढाउने रणनीतिमा छन् ।

उपमहासचिव र सचिवलगायतको पदमा भने अहिले विषय नै प्रवेश गरिसकेको छैन। त्यस्तै एमाले भित्रको पूर्व माओवादी फ्याक्टरको व्यवस्थापनको विषयमा पनि कुरा प्रवेश गरिसकेको छैन ।

अहिलेसम्म समस्या नभएको भनेको चाहिँ उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ लाई व्यवस्थापन गर्ने विषय हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर