चिनियाँभन्दा नेपाली कम्युनिस्ट पार्टीका कमिटी ठूला – Nepal Press
नेपाली कम्युनिस्टको पदमोह

चिनियाँभन्दा नेपाली कम्युनिस्ट पार्टीका कमिटी ठूला

साढे नौ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी २०४ सदस्यीय

इटहरी । चिनियाँ टेलिभिजन च्यानल सिजिटिएनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीमा साढे नौ करोड सदस्य आवद्ध छन् । यो तथ्यांक पाँच महिनाअगाडिको हो । जुन ५ को समाचार अनुसार त्यतिबेला दुई करोडले सदस्यताका लागि आवेदन दिएका थिए ।

साढे नौ करोडभन्दा बढी सदस्य भएको एसियाली महाशक्ति तथा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन हाँक्ने चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी २०४ सदस्यीय छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले उनीहरुलाई निर्वाचित गरेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । जहाँ २५ जनाको पोलिट्ब्युरो छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको आधिकारिक वेभसाइट आइडिसिपिसी डट ओआरजीका अनुसार यहाँ सात सदस्यीय स्थायी कमिटी छ ।

चिनियाँ कम्युस्टि पार्टीमा नेपालका कम्युनिस्ट पार्टीमा जस्तो बहुपदीय प्रणाली पनि छैन ।

नेपाली कम्युनिस्ट पार्टीका जम्बो केन्द्रीय कमिटी

नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले)को दशौं महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउँदैछ । उक्त संख्या चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ९७ ले धेरै हो । एमालेको पोलिट्ब्युरो ९९ जनाको हुनेछ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । अर्थात् एमालेको पोलिट्ब्युरोमा चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ७४ सदस्य बढी हुनेछन् । एमालेमा ८ लाखभन्दा बढी सदस्य आवद्ध छन् ।

नेपालको कान्छो कम्युनिस्ट पार्टी नेकपा एसको केन्द्रीय नेतृत्वसमेत चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ठूलो छ । गत असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनको पत्रअनुसार नेकपा एसमा ३३५ केन्द्रीय सदस्य छन् । यो संख्या एमालेको भन्दा ३४ जनाले धेरै हो भने चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा १३१ जनाले धेरै हो ।

नेकपा एसको पोलिट्ब्युरो ९४ जनाको छ । यो चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ६९ जनाले धेरै हो । यस्तै, स्थायी कमिटी पनि नेकपा एसको चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ठूलो छ । नेकपा एसमा ४२ जनाको स्थायी कमिटी छ । यो चिनियाँ कम्युनिस्ट पार्टीभन्दा ३५ जनाले धेरै हो ।

कुनै बेला सात हजारसम्म केन्द्रीय सदस्य बनाएर चर्चा कमाएको नेकपा (माओवादी केन्द्र)को अहिलेको केन्द्रीय नेतृत्व भने नेकपा (एमाले) र नेकपा एसको भन्दा सानो छ । माओवादीका केन्द्रीय सदस्य निर्मल बराल भन्छन्, ‘पहिलेको माओवादीको रोग अहिले एमाले र एकीकृत समाजवादीमा सरेको छ ।’

नेपाल (माओवादी केन्द्र)का तर्फबाट नेकपा एकताताका दुई सय केन्द्रीय सदस्य थिए । अहिले माओवादीमा कतिपय एमालेमा गएको र कतिपयको निधन भएकोले १८० हाराहारी भएको केन्द्रीय सदस्य बराल बताउँछन् । यो संख्या चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा २४ जनाले कम हो ।

अहिले माओवादीले पोलिट्ब्युरो बनाएको छैन । माओवादीको १५ सदस्यीय स्थायी कमिटी छ ।

नेपालका कम्युनिस्ट पार्टी संक्रमणकालमै छन्ः चीनका पूर्वराजदूत कार्की

चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले नेपाली कम्युनिस्ट पार्टी संक्रमणकालमै रहेको टिप्पणी गरेका छन् । आन्तरिक शक्ति सन्तुलन मिलाउनुपर्ने भएका कारण नेपाली कम्युनिस्ट पार्टीहरुको आकार चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा ठूलो भएको कार्कीको बुझाइ छ ।

‘७२ वर्ष लामो इतिहास भएपनि नेपाली कम्युनिस्ट पार्टीहरु अहिले पनि संक्रमणकालमै छन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर