फोफानाको ‘लेट’ गोलमा संकटा विजयी – Nepal Press

फोफानाको ‘लेट’ गोलमा संकटा विजयी

काठमाडौं । फोडे फोफानाको ‘लेट’ गोलसँगै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई २–१ को नजितामा पराजित गरेका छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सलाई दबाबमा राखे पनि संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो । यद्यपि, ५७औं मिनेटमा रिज बस्नेतको गोलसँगै बराबरीमा फर्किएको संकटाका लागि फोफानाले ८६औं मिनेटमा विजयी गोल गरे ।

खेलको सुरुआतदेखि नै दबाबमा परेको फ्रेन्ड्सले पहिलो हाफको अन्त्यतिर निरन्तर संकटाको पोष्टमा आक्रमण गरेको थियो । फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले ४१औं मिनेटमा गरेको प्रहार असफल भएको थियो । यद्यपि, त्यसको एक मिनेट नबित्दै ४२औं मिनेटमा फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पेनाल्टी एरियाको ‘एज’बाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

प्रकाशले बायाँ तर्फबाट ‘सेकेन्ड बार’मा गरेको प्रहारमा संकटाका गोलकिपर राजाबाबु थापा मुकदर्शक मात्रै बनेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको संकटाले ५७औं मिनेटमा निरज बस्नेतको गोलसँगै खेलमा बराबरी गरेको थियो । मिडफिल्डर सुभाष गुरुङले बायाँतर्फबाट कर्नरमा दिएको क्रसमा बस्नेतले ६ यार्ड बक्स बाहिरबाट हेडरमार्फत प्रहार गर्दै गोल गरेका थिए ।

त्यसअघि मिडफिल्डर सुभाष गुरुङले १२औं मिनेटमा दिएको पासमा संकटाका फरवार्ड जोर्डन जुनियरले गोल गर्नेृ सुन्दर मौका गुमाएका थिए । सुभाषसले पेनाल्टी एरिया भित्रबाट दिएको पासलाई ‘अन–माक्र्ड’ रहेका जुनियरले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

फ्रेन्ड्सका नथानियल जुडे गर्सियाले १५औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले रोकेका थिए ।

संकटाका फोडे फोफानाले १८औ मिनेटमा पेनाल्टी एरिया ठीक बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडीलाई लागेर बाहिरिएको थियो । सोही कर्नरबाट बनेको ‘मुभ’मा संकटाका फरवार्ड जुनियरले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहारमा फ्रेन्डसका गोलकिपर राहुल रामचन्द्र यादवले अगाडि बढेर उत्कृष्ट बचाउ गरेका थिए ।

२०औं मिनेटमा जमल एन्थोनीले बायाँ तर्फबाट दिएको पासमा प्रिजेन तामाङको प्रहार फ्रेममा परेको थिएन ।

सुरुआतमा संकटाविरुद्ध दबाबमा परेको फ्रेन्ड्सले बिरलै आक्रमणको मौका बनाएको थियो । ट्रिनिडाड र टोबागोका फरवार्ड एन्थोनीले २७औं मिनेटमा संकटाको ६ यार्ड बक्स नजिकबाट गरेको ‘ओभरहेड किक’ सोझै संकटाका गोलकिपर राजाबाबुको हातमा परेको थियो ।

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले ४१औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन ।

संकटाका फोडे फोफानाले ७१औं मिनेटमा गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर यादवले उत्कृष्ट बचाउ गरेका थिए । सोही कर्नरमार्फत फ्रेन्ड्सले गरेको काउन्टर अट्याकमा कप्तान प्रकाशले पेनाल्टी एरिया भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले पञ्च आउट गरेका थिए ।

जितसँगै संकटा क्लब लिगका सुरुआती दुई खेलबाट चार अंक बटुल्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले पहिलो खेलमा नवप्रवेशी सातादोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, संकटा हिमालयन शेर्पासँग १–१ गोलको बराबीमा रोकिएको थियो ।

शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री–स्टारलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

भोलि हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबसँग खेल्ने छ । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्बल भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *