४ देशका १५ विदेशी पाहुना आउने, चीनसहित २५ देशबाट सन्देश (भिडिओसहित) – Nepal Press
एमाले महाधिवेशन 

४ देशका १५ विदेशी पाहुना आउने, चीनसहित २५ देशबाट सन्देश (भिडिओसहित)

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो ।

चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री हर्षबद्र्धन र राष्ट्रिय सचिव हरिश द्धिवेदीले सहभागिता जनाउने भएका छन् ।

हर्षवद्र्धन र द्धिवेदी आजै अपरान्ह काठमाडौं आइपुगेका छन् । भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा माक्र्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा माक्र्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आइपुग्ने भएका छन् । भाकपा लिब्रेसन बिहारको दल भएकाले गुप्ता र सौरभ सडकमार्गबाटै चितवन पुग्नेछन् ।

कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।

२५ मुलुकबाट शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख राजन भट्टराईले जानकारी दिए । ब्राजिल र भियतनामबाट शुभकामना सन्देश आउने क्रममा रहेको उनले जनाए । राजदूतहरुलाई पनि निम्तो गरिएको र कतिपयले महाधिवेशनमा आउने जानकारी दिएको भट्टराईले बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल अल रसियन पोल्टिक पार्टी युनाइटेड रसियासहितका पार्टीले सन्देश पठाइसकेका छन् । ग्रीस, म्यानमार, टर्की, आयरल्यान्ड, फ्रान्स, चीन, जर्मनी लगायत मुलुकका राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।

कोरोना महामारीको कारण देखाउँदै जर्मनी र फ्रान्सका दलहरुले भौतिकरुपमा आउन नसक्ने बताउँदै शुभकामना सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले शुभकामना सन्देश पठाएको छ । विगतमा सीपीसीका प्रतिनिधिले भौतिकरुपमै सहभागिता जनाएका थिए ।

‘चीनसँग हाम्रो पार्टीगत सम्बन्ध सघन र सुमधुर छ । कोरोनाकै कारण उहाँँहरुले आउन नसक्ने बताउनुभएको छ । अन्य कारण छैन । उहाँहरु महामारीलाई लिएर संवेदनशील हुनुहुन्छ’ पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यसपटक कोरोनाकै कारण धेरै पार्टीहरुले शुभकामना सन्देश पठाउनुभएको छ ।’

कम्युनिस्ट मुलुक क्यूवाले कोरोनाकै कारण आउन नसकेको जानकारी दिएको उनले बताए । उत्तर कोरियालाई पनि निम्तो गरिएको र शुभकामना सन्देश पठाउने जानकारी पठाएको जनाइएको छ ।

आउने निश्चित भएका दल र डेलिगेट्स

विदेशी पाहुनाहरुलाई राजधानीको होटल सोल्टीमा बसोबासको व्यवस्था मिलाइएको छ । एमाले विदेश मामिला विभागका प्रमुख भट्टराईले आज साँझ सोल्टी होटलमै रात्रीभोजको आयोजना गरेका छन् । विदेशी पाहुनाले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश पनि दिने भएका छन् ।

जसले शुभकामना सन्देश मात्र पठाएका छन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनासँग मंसिर १२ गते बिहान चितवनमा ब्रेकफास्ट मिटिङ गर्ने छन् । त्यसबीचमा पार्टीका विभिन्न तहमा रहेका नेतासँग उनले द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

चितवनमा ग्रीन मेनसन होटलमा विदेशी पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको छ । साथै चितवनका पर्यटकीय ठाउँको भ्रमण समेत गराइने भएको छ । दृश्यावलोकन, जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको समेत अवलोकन गर्ने कार्यक्रम राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर