उड्डयन कानून लागू भएपछि युरोपले नेपालको हवाइ प्रतिबन्ध हटाउने – Nepal Press
नेपाल-ईयू संयुक्त बैठक सम्पन्न

उड्डयन कानून लागू भएपछि युरोपले नेपालको हवाइ प्रतिबन्ध हटाउने

काठमाडौं । युरोपेली युनियन (ईयू)ले नयाँ उड्डयन कानून लागू भएपछि मात्र नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने जनाएको छ । नेपाल र ईयूबीच बुधबार भएको संयुक्त आयोगको १३ औं बैठकमा ईयूले सो जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले जतिसक्दो चाँडो युरोपेली आकाशमा आफ्ना जहाजलाई लगाइएको उडान प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह गरेको थियो । प्रस्तावित कानूनमार्फत हवाइ उडानलाई सुरक्षित बनाउने नेपालले प्रतिबद्धता जनाएको थियो ।

‘नयाँ कानून लागू भएपछि मात्र नेपाली जहाजलाई युरोपेली आकाशमा लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्नेबारे हामी सकारात्मक छौं’ युरोपेली अधिकारीहरुको जवाफलाई उध्दृत गर्दै मन्त्रालयले जनाएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र ईयूका तर्फबाट एसिया तथा प्रशान्त क्षेत्रकी निर्देशक पाउलो पाम्पालोनीले गरेकी थिइन् ।

बैठकमा नेपालले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको खोपसहितको सहायताप्रति धन्यवाद दिएको थियो । सन् २०२२ को अप्रिलसम्म लक्षित समूहलाई खोप लगाइसक्ने जानकारी दिँदै नेपालले भविष्यमा आउनसक्ने महामारीविरुद्ध लड्न सहायता आदानप्रदान गर्ने विश्व स्वास्थ्य संगठनजस्ता वैश्विक संस्थालाई बलियो तुल्याउनेबारे पनि छलफल गरेका थिए ।

सन् २०२६ देखि विकासोन्मुख मुलुकको रुपमा स्तरोन्नती हुने नेपालको योजनालाई ईयूले स्वागत गरेको छ । नेपालको हरित समावेशी विकासप्रति ईयूले सघाउने वचन दिएको छ । जी–२० बैठकमा विपन्न मुलुकहरुको ऋण सहायतालाई निलम्बन गर्नुपर्ने ईयूको अभियान (डीएसएसआई)प्रति नेपालले समर्थन जनाएको छ । ईयूको यो अभियानलाई पूर्णरुपमा मिलेर कार्यान्वयन गर्ने सहमती पनि दुबै पक्षबीच भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रसंघको ७६ औं महासभामा व्यक्त गरेको संक्रमणकालिन न्यायबारेको अभिव्यक्तिलाई पनि ईयूले स्वागत गरेको छ । नेपालको सामाजिक तथा राजनीतिक रुपान्तरणबारे पनि ईयूले स्वागत गरेको छ ।

जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता र अन्तरसंजालजस्ता विषयमा समन्वय र सहयोग आदानप्रदान गर्ने सहमती पनि जुटेको छ । सार्क र बिमस्टेकजस्ता क्षेत्रीय मंचबारे पनि छलफल भएको छ ।

संयुक्त आयोगको अर्को बैठक सन् २०२२ मा ईयू मुख्यालय ब्रसेल्समा बस्ने भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर