लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान भोलिदेखि सुरु हुदैँ – Nepal Press

लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान भोलिदेखि सुरु हुदैँ

काठमाडौं । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विहीबारदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शुरु हुने भएको छ ।

राष्ट्रिय महिला आयोगले बुधबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै विहीबारदेखि सुरु हुन लागेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा जानकारी गराएको हो ।

अभियानबारे जानकारी दिदैँ आयोगका अध्यक्ष कमला पराजुलीले ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिएकी छन् । हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नआएको उनको भनाई थियो ।

आयोगले १६ दिने अभियानका क्रममा नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्तराष्ट्रिय दस्तावेजको कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, छाउपडी प्रथा, बालविवाह, दाईजोलगायत प्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा प्रदेश दुई केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने र अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने आयोगका उपसचिव अञ्जु ढुंगानाले जानकारी दिईन ।

अभियानकै क्रममा योगमायाले नेपाली महिला आन्दोलनको सुरुवात गरेको भोजपुरको मझुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसा विरुद्धको अन्तरक्रियात्मक कार्यक्रम, बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम गर्ने आयोगकी सदस्य कुष्णाकुमारी पौडेलले बताईन ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभिभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार संघीय सरकारका मन्त्रालय तथा निकायह, सात वर्ट प्रदेश सरकार, ७७ वटै जिल्ला तथा ७ सय ५३ वटै स्थानीय तहले अभियान सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *