सडक अवरुद्ध पारेर नेपाल बारको विरोध – Nepal Press

सडक अवरुद्ध पारेर नेपाल बारको विरोध

जनकपुरधाम । उच्च अदालत जनकपुरअगाडि सडक अवरुद्ध पारेर वकिलहरूले विरोधसभा गरेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारको आन्दोलनको थप कार्यक्रमअन्तर्गत आज देशभरका उच्च अदालतमा प्रदर्शन गरिएको छ । सडक छेकेर वकिलहरूले विरोधसभा सुरू गर्दा सवारीसाधन रोक्न दुवैतिर प्रहरी परिचालित थिए ।

उनीहरूको आन्दोलनले सडक र उच्च अदालत दुवै ठप्प भयो । आन्दोलनकारीको अवरोधका कारण सेवाग्राही पस्न पाएनन् ।

विरोधसभामा बोल्दै नेपाल बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले देशभर रहेका १८ वटा उच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधसभा गरेको जानकारी दिए । आन्दोलनको बलले प्रधानन्यायाधीशलाई हटाएरै छाड्ने उनले बताए ।

आन्दोलन न्यायपालिका शुद्धीकरणका लागि भएकाले सहयोगका लागि राजनीतिक दलको ध्यानाकर्षण र नागरिक समाजलाई पनि अपिल गरेको उनले बताए । ‘संवैधानिक आयोगमा भागबण्डा र आफ्ना मान्छेलाई मन्त्री समेत बनाएकाले वर्तमान प्रधानन्यायाधीश पदमा बस्न लाइक हुनुहुन्न’, उनको टिप्पणी छ ।

बरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले संविधान र कानूनभन्दा माथि नरहेकाले प्रधानन्यायाधीशले आफ्नै लागि भएपनि राजीनामा दिनुपर्ने औंल्याए । उनले भने, ‘न्यायपालिकाप्रति रतिभर पनि माया छ भने प्रधानन्यायाधीशले राजीनामा दिउँन् । किनभने उहाँमाथि पनि भोलिको दिनमा मुद्दा लाग्यो भने यहीँ आउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर