फिल्म डेब्युबारे भिटेन भन्छन् : र्‍यापरबाट एक्टरमा रुपान्तरित हुँदैछु – Nepal Press

फिल्म डेब्युबारे भिटेन भन्छन् : र्‍यापरबाट एक्टरमा रुपान्तरित हुँदैछु

भिटेनको रत्नपार्क दशैं फूलपातिमा रिलिज हुँदै

काठमाडौं । कोरोनाभाइरस संक्रमणको स्थिती सहज भए आउँदो वर्षको दशैंमा फिल्मको माहौल पुनः लयमा फर्कनेछ । ठूला ब्यानरदेखि स्टारकास्ट सम्मका फिल्मले यो मितिमा अहिल्यैदेखि नजर राख्न थालेका छन् ।

बुढासुब्बा फिल्म्सले निर्माण गर्न लागेको सोसल ड्रामा ‘रत्नपार्क’ २०७९ सालको दशैं फूलपातिमा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनीले फिल्मको कार्यशाला सुरु हुनु केही साताअघि मात्र उक्त फिल्मको प्रदर्शन मिति तय गरेको छ ।

निर्माता नवराज गिरीले नेपाल प्रेसलाई भने, ‘हाम्रो अघिल्लो फिल्म डाँडाको वरपीपल रिलिज भएकै मितिमा रत्नपार्कलाई प्रदर्शन गर्ने हाम्रो तयारी छ ।’

बुढासुब्बाले गतसाता र्‍याप गायक समीर घिसिङलाई लिड रोलमा औपचारिकरुपमा अनुबन्धित गरेको छ । भिटेनको स्टेज नामले चिनिने गायक घिसिङले यसअघि केही फिल्मको ओएसटीमा काम गरेपनि अभिनयको हिसाबले यो फिल्म पहिलो हुनेछ ।

भिटेनले पनि डेब्यु फिल्मलाई लिएर उत्साहित भएको बताए । ‘लगभग मेरै वास्तविक जीवनको नजिक छ यसको कथावस्तु’ नेपाल प्रेससँग उनले भने, ‘अब वर्कसपमा गएर आफूलाई अभिनयमा निखार्ने तयारीमा छु ।’

निर्माता गिरीले पनि भिटेनलाई लिड रोलमा ल्याउनु चुनौति र अवसर दुबै भएको बताए । ‘वर्कसपमार्फत उनको अभिनयमा निखारता ल्याउनु जरुरी छ’ उनले भने, ‘वर्कसप सकिएको डेढ महिनामै छायांकनमा जानेछौं ।’

घिसिङलाई कति मूल्यमा अनुबन्धित गरिएको हो भन्ने जानकारी भने उनले दिएनन् । काठमाडौंमा बाँच्नको लागि गर्ने संघर्षको कथामा रत्नपार्क आधारित हुने जनाइएको छ ।

फिल्ममा घिसिङकै लिड रोलदेखि म्युजिक कम्पोजसमेत हुनेछ । नयाँ निर्देशक र अन्य कलाकारलाई लिएर बुढासुब्बाले चाँडै पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर