सन्तोषसँग भेटेपछि सुदर्शनले भने : फेरि ‘प्रेमगीत’ निर्देशन गर्ने तयारीमा छु ! – Nepal Press

सन्तोषसँग भेटेपछि सुदर्शनले भने : फेरि ‘प्रेमगीत’ निर्देशन गर्ने तयारीमा छु !

काठमाडौं । गत सोमबार इन्टरनेटमा सेयर भएको एउटा तस्बिरलाई लिएर नेपाली फिल्म क्षेत्र तरंगित बनेको छ । आफूहरु दुईजनाको तस्बिरलाई स्वयम निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाले सामाजिक संजालमा सेयर गरेका छन् ।

सुदर्शनले क्याप्सनमा लेखेका छन्, ‘चलचित्रमा देखिने काल्पनिक पात्र नभई, चलचित्र बनाउने दुई वास्तविक पात्रको भलाकुसारी ।’ सन्तोष लेख्छन्, ‘कलाकारलाई पर्दाको हिरो अनि आम दर्शकको सपनाको राजा सपनाको रानीमात्र बनाउने हैन अलिकति भएपनि वास्तविक जीवनमा हिरो हुन हामी पनि जानेका छौं ।’

धेरैका लागि सन्तोष र सुदर्शनको यो पोट्रेट तस्बिर मात्र हैन, आफैमा एउटा सन्देश पनि हो । सन् २०१६ मा रिलिज भएको फिल्म प्रेमगीतपछि सन्तोष र सुदर्शनको यो फोटोले धेरैकुरा भन्छ ।

यी दुईजनाको भेटवार्ता हुने तत्कालिन कारण चाहिँ रिलिज तयारीमा रहेको ‘प्रेमगीत ३’ र ‘म यस्तो गीत गाउँछु २’ नै मुख्य बहाना थिए । यो भेटमा यी दुईले रिलिजको तयारीबारे गफगाफ पनि गरे ।

यसबाहेक अर्को कुरा पनि अपेक्षित थियो । त्यो हो : भविष्यमा पुनः सहकार्य गर्ने । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक थापाले भविष्यमा सहकार्य गर्नेबारेमा पनि निर्माता सेनसँग संवाद भएको बताए । ‘प्रेमगीत पनि हुनसक्छ या अन्य प्रोजेक्ट पनि हुनसक्छ । हामीले सहकार्य गर्ने तयारी गरेका छौं । अस्तीको भेटको त्यसको सुरुआत हो’ सुदर्शनले भने ।

सुदर्शनले सन्तोषको निर्माण रहेको ‘प्रेमगीत’लाई निर्देशन गरेका थिए । त्यसपछि यी दुईबीचको सहकार्य टुट्यो । फिल्म लाइनमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने सन्देश सोमबारको उक्त तस्बिरले दिएको छ ।

सुदर्शन अहिले भने माघ १९ गते रिलिज हुने आफू निर्देशित ‘फिल्म म यस्तो गीत गाउँछु २’ को रिलिज तयारीमा छन् । सन्तोष चाहिँ ‘प्रेमगीत ३’ रिलिज तयारीका लागि भारतीय साझेदारसँग छलफल गर्न मुम्बईमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर