प्यूठानमा कांग्रेसकाे मतगणना स्थलमा गाेली चल्याे, ७ जना घाइते, मतगणना स्थगित – Nepal Press

प्यूठानमा कांग्रेसकाे मतगणना स्थलमा गाेली चल्याे, ७ जना घाइते, मतगणना स्थगित

रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा आक्रमण भएपछि गोली चलेको छ । साे घटनामा ७ जना घाइते भएका छन् ।

मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा ९ जना घाइते भएका छन । जसमा दुई जना सुरक्षाकर्मी तथा सात जना कांग्रेस कार्यकर्ता रहेका छन् । दुई जना गम्भिर घाइतेलाई थप उपचारका लागि बाहिर पठाइएको  छ ।

घाइते हुने सुरक्षाकर्मीमा प्रहरी जवान गोपाल जिसी र एक अर्का प्रहरी जवान पनि रहेका छन्  त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन । घाईतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन ।

यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ । गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मतगणनास्थलमाआक्रमण गरिएपछि केही समय तनाब भएपनि अहिले स्थिति नियन्त्रणमा आएको नेपाल प्रेसलाई बताए । उनले प्रहरीतर्फ दुई जना र प्रदर्शनकारी तर्फबाट पनि ५ जना घाइते भएकाे तथा मतपेटिका सबै सुरक्षित रहेकाे बताए ।

घटनामा घाइते ९ जनामध्ये ७ जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ भने दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको एक प्रहरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर