फर्किए नवीन सुब्बा : फिल्म ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने (भिडिओ) – Nepal Press

फर्किए नवीन सुब्बा : फिल्म ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने (भिडिओ)

काठमाडौं । ‘नुमाफुङ’ र ‘गुडबाइ काठमाण्डू’ फेम्ड निर्देशक नवीन सुब्बा नयाँ फिल्म ‘गाउँ आएको बाटो’देखि पुनरामगमन गर्ने तयारीमा छन् ।

मेन्छेम पिक्चर्सले निर्माण गर्न लागेको सोसल ड्रामा फिल्मको मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण घोषणा गरियो ।

दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका हुने फिल्म किनपनि अपेक्षित छ भने समीक्षकले रुचाएको नुमाफुङ र केही फेस्टिभलमा प्रदर्शन भएको गुडबाई काठमाण्डूपछि सुब्बा निर्देशनको तयारीमा छन् ।

नेपाली फिल्मको परम्परागत कथ्य संरचना र शैलीबारे आलोचक मानिने निर्देशक सुब्बाले यस फिल्ममार्फत फिल्म लगानीमा सामुदायिक मोडेलको पनि सुरुआत गर्दैछन् ।

फिल्म घोषणाको पत्रकार सम्मेलनमा पनि निर्देशक सुब्बाले कोभिड-१९ महामारीपछिको फिल्म निर्माणमा ठूलै चुनौति आउने भएकाले त्यसको तयारीमा जुट्नुपर्ने बताए ।

नुमाफुङ प्रदर्शनको १७ वर्षपछि सुब्बाले फिचर फिल्म निर्देशन गर्न लागेका हुन् । उनी निर्देशित गुडबाई काठमाण्डू बुसान लगायत फेस्टिभलमा प्रदर्शन भएको छ र कोभिड-१९ महामारको अवस्था सामान्य भए नेपाली हलहरुमा रिलिज तयारीमा छ ।

६ वर्षअघि सुब्बाले निर्देशन गरेको पल्टिकल ड्रामा सिरिज ‘सिंहदरबार’ प्रदर्शनमा आएपनि सुब्बाको परिचय चाहिँ फिल्म निर्देशककै रुपमा रहेको छ ।

‘गाउँ आएको बाटो’ खासमा के हो ?

निर्देशकका अनुसार सडक र आधुनिकताले गाउँमा ल्याएको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको कथा नै यो फिल्मको विषयवस्तु हो । डेढकरोड रुपैयाँमा निर्माण हुने बताइएको फिल्मको छायांकन केही सातामै सुरु गर्ने तयारी छ ।

भोजपुरको बालङ्खा, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन हुने फिल्मको तालिका ४५ दिनको राखिएको छ । दयाहाङ र पशुपतिसहित प्रसन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बाको मुख्य अभिनय छ ।

निर्देशक सुब्बा र महेश राईले मिलेर पटकथा लेखेका हुन् । अमेरिकी छायांकार मार्सिन क्याप्रोनले फिल्म खिच्दैछन् । अमोद राई निर्माता रहेको फिल्ममा नेपालबाट सञ्जु राई, हङकङदेखि देवराज राई, बेलायतबाट नरहाङ राई र अमेरिकादेखि भीम राई कार्यकारी निर्माता छन् ।

फिल्मको कथावस्तु राई समुदायकै भएकाले सबै कलाकार र टीम पनि सोही समुदायबाट लिइएको जानकारी निर्देशक सुब्बाले दिए ।

निर्देशक सुब्बा के भन्छन् ?

निर्देशक सुब्बा खासगरि कोभिड-१९ महामारीपछि चिन्तित सुनिए । पोस्ट–पेन्डेमिक समयमा फिल्मको निर्माण, प्रदर्शन र वितरणमा ठूलै परिवर्तन आउने बताउँदै उनले आफूले निर्देशन गर्न लागेको नयाँ फिल्मको तयारी पनि जुम मिटिङबाटै गरेको बताए ।

महामारीले नेपाली फिल्मलाई थप मौलिक, प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउनुपर्ने चुनौति थपिएको बताउँदै सूब्बाले नेपाली फिल्म निर्माताले चुनौतिलाई आत्मसात गर्न तयारी अवस्थामा बस्नुपर्ने बताए ।

प्राविधिक रुपान्तरणले नेपाली दर्शकको फिल्म चेतना विश्वस्तरीय भएको बताउँदै उनले अस्तित्वका लागि पनि नेपाली फिल्म विश्वस्तरीय बन्नु जरुरी रहेको बताए । ‘अब हामी हिजैको जस्तो फिल्म बनाएर टिक्न सक्दैनौं । त्यो तयारी हाम्रोमा देखिएको छैन । त्यो लेभलको जनशक्ति र ज्ञान निर्माण गर्नुपर्छ’ उनले भने ।

बेला–बेलामा दयाहाङ राई आलोचक सुनिने निर्देशक सुब्बा पत्रकार सम्मेलनमा दयाहाङसँगै सहभागी थिए । यो फिल्मको मुख्य पात्रमा समेत दयाहाङ छन् । अब दयाहाङलाई अभिनय गराउन चुनौतिपूर्ण रहेको उनको भनाई छ ।

‘दयाहाङलाई अभिनय गर्नु अभिनय चुनौतिपूर्ण छ । केही नन-एक्टर पनि हुनुहुन्छ । यी दुबै खाले एक्टिङ गर्नेको तरिका मिलाउन विधिहरु पनि विकास गर्नु जरुरी छ’ उनले भने ।

अभिनेता राईले पनि झन्डै २० वर्षपछि निर्देशक सुब्बासँग काम गर्न पाउनु आफ्ना लागि चुनौति र अवसर दुबै भएको बताए । ‘बीस वर्षको अन्तरमा पुनः समाजसँग जोडिने अवसर पाउँदै छु’ उनले भने, ‘राई भाषा बुझुने र समाजलाई बुझ्ने मौका पनि हुनेछ ।’

अमेरिकी छायांकार मार्सिन क्याप्रोनले आफू फिल्म खिच्ने ठाउँ र पात्रसँगको प्रेममा परेको बताए । निर्देशक छिरिङरितार शेर्पाले कोभिड महामारीको समयमा सुब्बाको फिल्मले नयाँ जीवन दिने आशा व्यक्त गरे ।

‘हङकङ नेपाली फिल्मको बजार चाहन्छ’

फिल्म निर्माता अमोद राई दुई दशकदेखि हङकङमा बसोबास गर्दै आएका छन् भने पेशाले उनी शिक्षक हुन् । हङकङ र नेपाली समाजको चरित्र अध्ययनमा उनको राम्रो दखल छ । हङकङमा बसोबास गर्ने चिनियाँ र गैरचिनियाँले नेपाली समाजसँग अन्तक्रिया गर्न कला, साहित्य र संस्कृति चाहेको र फिल्म बलियो माध्यम हुने उनको भनाई छ ।

‘नवीनजीसँग हङकङमा भेट हुँदा यस्तो आइडियामा फिल्म बनाउने योजना भयो । कम्युनिटी फन्डिङको अवधारणामा फिल्म बनाउने आइडिया बन्यो । नेपाली साहित्य, कला र संस्कृतिलाई पनि विकास गर्नुपर्ने हाम्रो दायित्व पनि थियो’ पत्रकार सम्मेलनमा निर्माता राईले भने ।

ह्ङकङले विविधतायुक्त समाजलाई स्वीकार्न खोजेको बताउँदै राईले अल्पसंख्यकको कथा भन्न चाहेको बताए । गत महिना हङकङमा लागू भएको नयाँ फिल्म नीतिले नेपाली फिल्म निर्माणमा कुनै बाधा नपुग्ने उनको भनाई छ ।

फिल्ममा सामुदायिक लगानीको मोडेल

नेपाली फिल्म निर्माणमा पहिलोपटक ‘गाउँ आएको बाटो’ले फिल्ममा सामुदायिक लगानीको अवधारणा ल्याएको छ । भन्नुको अर्थ, जुन समुदायको कथावस्तुमाथि फिल्म निर्माण हुन्छ, त्यसमाथि उक्त समुदायले गच्छेअनुसारको लगानी गर्नु ।

यो फिल्मको कथावस्तु पनि राई समुदायमा आधारित भएकाले गाउँ जाने बाटोले कम्युनिटी फन्डिङको अवधारणा ल्याएको हो । यस्तो लगानी मुलुकमै पहिलोपटक भएको हो ।

‘जुन कथा जुन समुदायबाट आउँछ, सोही समुदायले लगानी गर्ने र बजारीकरण गर्ने अवधारणाअनुसार हामीले यो फिल्म निर्माण गर्न लागेका हौं’ निर्देशक सुब्बाले भने ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर