भूपेन्द्रले ल्याए कांग्रेसमा परिवर्तनका लागि ३० बुँदे प्रस्ताव – Nepal Press

भूपेन्द्रले ल्याए कांग्रेसमा परिवर्तनका लागि ३० बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसको रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव अघि सारेका छन् ।

‘नेपाली कांग्रेस : आमूल रुपान्तरणको प्रस्ताव’ सार्वजनिक गर्दै शाहीले पार्टीभित्र विचार, सिद्धान्त र एजेण्डामा आधारित जागरणको खाँचो औल्याएका छन् ।

पार्टीलाई गुटवाद, नातावाद, चाकरीवाद र पैसावालाको कब्जाबाट मुक्त गराउन आवश्यक रहेको भन्दै शाहीले योगदान, समर्पण, सक्रियता, प्रतिवद्धता र क्षमताको आधारमा जिम्मेवारी दिने परिपार्टीको विकास हुनुपर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमबीच प्रस्ताव सार्वजनिक गर्दै शाहीले आफूले अघि सारेका विषयमा निरन्तर बहस सञ्चालन गर्ने बताए । ‘अहिले महाधिवेशनमा नेतृत्वको मात्रै सवाल आएको छ । मैले आमूल रुपान्तरणको प्रस्ताव अगाडि सारेको छु । मेरो प्रस्तावबारे पार्टीभित्र निरन्तर छलफल हुने विश्वास लिएको छु’, शाहीले भने ।

उनले कांग्रेसमा महाधिवेशनको मुखैमा क्रियाशील सदस्यता बाँड्ने काम बन्द गरी हरेक वर्ष क्रियाशील सदस्यता पारदर्शी ढंगले अद्यावधिक गरिनुपर्ने बताए । जिल्ला, प्रदेश र केन्द्रीय समितिको आकार अहिलेको भन्दा बढाएर पार्टीभित्र बढी भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्ने शाहीको प्रस्ताव छ ।

हरेक वडासम्म पुग्नेगरी ‘जनजनमा कांग्रेस, मनमनमा कांग्रेस’ अभियान सञ्चालन गर्नुपर्ने भन्दै शाहीले प्रजातान्त्रिक समाजवादको समयसापेक्ष व्याख्या गरेर जनतामा जानुपर्ने बताए ।

पार्टीभित्र विपन्न र संकटमा परेका कार्यकर्तालाई सहयोग गर्न स्थायी प्रकृतिको कोष निर्माण गर्नसमेत शाहीले प्रस्ताव गरेका छन् ।

शाहीले मुलुकको शासन प्रणाीलभित्र सुधारको एजेण्डालाई कांग्रेसले बोक्नुपर्ने बताएका छन् ।

उनले कांग्रेस महाधिवेशनमा आफ्ना एजेण्डालाई स्वीकार गर्ने नेतालाई नै समर्थन दिने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर