सुर्खेतमा कांग्रेस महामन्त्री खड्काले चाहेको व्यक्ति सभापति बन्ने निश्चित – Nepal Press

सुर्खेतमा कांग्रेस महामन्त्री खड्काले चाहेको व्यक्ति सभापति बन्ने निश्चित

सुर्खेत । नेपाली का‌ग्रेस अहिले महाधिवेशनको तयारीमा छ । वडा र प्रदेश क्षेत्रकाे अधिवेसन सम्पन्न भइसक्दा र क्षेत्रीय अधिवेशनकाे मतदान जारी रहँदा अब जिल्लाको नेतृत्वमा जोडघटाउ सुरु भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा यसपल्ट उनैले चाहेको व्यक्तिले जिल्ला नेतृत्व पाउने निश्चितजस्तै बनेको छ । पछिल्लो निर्वाचनमा पौडेल समूहले जिते पनि यसपल्ट वडादेखि क्षेत्रसम्मका झण्डै तीन चौथाई प्रतिनिधि खड्का समूहका छन् ।

सुर्खेतमा कांग्रेसका दुई केन्द्रीय नेता छन् । केन्द्रीय सदस्य हृदयराम थानी समूह यसपल्ट कमजोर बनेको छ । त्यसैले कांग्रेसबृत्तमा महामन्त्री खड्काले जसलाई चाहन्छन् उही सभापति हुने चर्चा चल्न थालेको छ ।

आज सुर्खेतमा महाधिवेशन प्रतिनिधिदेखि क्षेत्रीय सभापतिका लागि मतदान सुरु भइसकेको छ । ‘महाधिवेशन प्रतिनिधिको रुपमा यदि थानी समूहबाट कोही पनि विजय बनेनन् भने जिल्ला सभापतिमा दाबी गर्ने अधिकार थानी समूहसँग रहने छैन । त्यस्तो भएको खण्डमा खड्काले निर्वाचन क्षेत्र नम्बर एक बाटै सभापति ल्याउन सक्छन्,’ कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘यदि पौडेल समूहबाट कोही महाधिवेशन प्रतिनिधिमा जितेर आएको खण्डमा भने खड्काले निर्वाचन क्षेत्र नम्बर दुइको भ्याली वा पश्चिम क्षेत्रबाट सभापति उठाउने छन् ।’

कांग्रेस स्रोतका अनुसार यदि अर्को समूहबाट महाधिवेशन प्रतिनिधि नजितेको खण्डमा देउवा पक्षका पश्चिमका नेताहरु उपेन्द्र थापा, टोपबहादुर रावत, यज्ञबहादुर विसी, कलम खत्रीलगायतका पुराना कांग्रेस नेताहरु खड्का सामु निरीह बन्ने छन र उनीहरुको वार्गेनिङ पावरसमेत समाप्त हुनेछ ।

त्यस्तो भएको खण्डमा आगामी स्थानीय तहदेखि प्रदेश सभाको निर्वाचनमा समेत पश्चिम सुर्खेतका नेताहरुले भूमिका खेल्न नपाउने सम्भावना बढेको हो ।

खड्काले जिल्ला सभापतिका लागि भ्यालीमा हुँदा उनका भाई विष्णु खड्का वा उनी नभए क्षेत्र नम्बर एकका पूर्व क्षेत्रीय सभापति खड्क पोखरेललाई उम्मेदवार बनाउनेछन् । यदि उनीहरु उम्मेदवार भएको खण्डमा साविकको निर्वाचन क्षेत्र नम्बर एक, दुई मिलेर अत्याधिक बहुमतले जितिने अनुमान छ।

र त्यस्तो भएको खण्डमा साविक निर्वाचन क्षेत्र नम्बर तिनलाई सहजै पाखा लगाउन खड्का सफल हुनेछन् ।

सुर्खेतमा नौ वटा स्थानीय तह छन् । ती मध्ये चौकुने गाउँपालिका बाहेक आठवटामा खड्का समूहले एकलौटी जित हात पारेको छ । यस्तै चार ओटा प्रदेश निर्वाचन क्षेत्र भएको सुर्खेतमा चारै सभापति सहित प्यानलनै खड्का पक्षले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर