चुरे क्षेत्र जोगाउन सके संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति भण्डारी – Nepal Press

चुरे क्षेत्र जोगाउन सके संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।

महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरिन् ।

मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

तराईको जीवन चुरे पर्वतसँग अभिन्न रुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन् । चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेका थिए । सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर