ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न – Nepal Press

ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले अस्पतालले दिने सेवाहरुसहित मुटु रोग लाग्नुका कारणहरु, अपनाउनु पर्ने सावधानी, उपचार विधीका बारेमा बताए । गंगालाल अस्पतालमा १५ वर्षभन्दा मुनी, ७० वर्षभन्दा माथी, विपन्न वर्गका मानिसहरुका लागि निःशूल्क उपचार हुने भएतापनि विरामीहरु समयमा नै उपचार गर्न नआउने कुरा बताए ।

प्रतिष्ठानका विभाग प्रमुख प्राज्ञ रमेशनाथ खनालले शरिरमा सम्पूर्ण अंगहरुको आ–आफ्ना महत्वपूर्ण कार्य हुने र त्यसमा पनि मुटु विना केही सेकेण्ड पनि बाँच्न नसकिने भएकोले सचेतना कार्यक्रम आयोजना गरेको बताए ।

डा. अधिकारीले भने नेपालमा वर्षेनी मृत्यु हुनेहरु मध्ये ३३% मुटु रोगका बिरामीहरु छन् । मुटु रोग वंंशाणुगत र जीवन शैलीका कारणले हुने गर्दछ भने केही जन्मजात पनि हुन्छ । मुटुमा रोग छ कि छैन भनि जानकारी लिनको लागि इको टेस्ट गर्दा सजिलै पत्ता लाग्छ । मुटुमा समस्या आउने बित्तिकै छाती, दायाँ वा बाँया हातमा निक दुखाई हुन्छ । यसो हुँदा १२ घण्टा भित्रमा जति सक्दो छिटो अस्पताल पुग्न सक्यो त्यति नै बाँच्ने सम्भावना बढि हुने बताए ।

अनुसन्धानका अनुसार हृदयघात भएकाहरु मध्ये २३% मानिसहरु अस्पताल नपुग्दै मर्छन् । १३% मानिसहरु अस्पताल पुगेर मर्छन् । बाँकी ६४% विरामीहरु निको हुन्छन् । ती निको भएका मानिसहरुको आयु पनि त्यति लामो हुँदैन्, कति बाँच्ने भन्ने कुरा हृदयघात भएको कति समयमा उपचार पायो भन्नेमा निर्भर गर्दछ । हृदयघात जुन उमेर समूहमा हुन सक्ने भएपनि उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । यो रोग रक्तचाप, सुगर हुने व्यक्तिहरुमा बढी हुन्छ भने महिलाको तुलनामा पुरुषलाई बढि हुन्छ । जाँड, रक्सी, चुरोट, खैनी, सूर्ति, जम्ने चिल्लो पदार्थ (घ्यू, डाल्डा)खाने, तनाव लिने, मोटो(त्यसमा पनि पेट ठूलो हुने) व्यक्तिलाई मुटु रोगको सम्भावना बढि हुन्छ । डा. अधिकारीका अनुसार चुरोट खाने १०० पुरुषहरु मध्ये ८ जना र १०० महिला मध्ये १३ जनालाई हृदयघात हुने बताए ।

शरिरको सम्पूर्ण दुखाईको तुलनामा मुटुको दुखाई ज्यादा हुन्छ र ज्यानसमेत जान सक्ने भएकोले समयमै सावधानी अपनाउनु पर्दछ । यसका लागि नुन कम खाने(दिनमा ५ ग्राम), फलफुल, सागपात बढि खाने, दिनहुँ व्यायाम गर्ने, तनावरहित जीवन जिउनु पर्दछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर