पोखरामा कांग्रेसको चुनाव: गुट बनाएर प्रचारमा व्यस्त उम्मेदवार – Nepal Press

पोखरामा कांग्रेसको चुनाव: गुट बनाएर प्रचारमा व्यस्त उम्मेदवार

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा आम निर्वाचनकै झल्को देखिएको छ ।सोमबार तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनले आम निर्वाचनको झल्को दिएको हो ।

सडकदेखि तिनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो ।

उम्मेदवारहरुले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने मोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए । केही उम्मेदवारहरुले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए । जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् ।

कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्वसभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बिच प्रतिस्पर्धा रहेको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा पूराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ ।

केही उम्मेदवारहरुले भने स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाहरूको देखिएको छ । पार्टीभित्रको निर्वाचनको जस्तैगरी आमनिर्वाचन, स्थानीय र प्रदेश तहको निर्वाचनमा उत्साह देखिए कांग्रेसले कुनैपनि निर्वाचन नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारी बताउँछन् ।

पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताए ।

कांंग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आगामी तिनै तहको निर्वाचनमा पर्ने हो भन्ने सम्बन्धमा नेता, कार्यकर्ता चिन्तित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर