एमाले महाधिवेशन : चितवनमा थप १०० जना ट्राफिक प्रहरी परिचालन – Nepal Press

एमाले महाधिवेशन : चितवनमा थप १०० जना ट्राफिक प्रहरी परिचालन

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।

महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो ।

यातायात प्रवन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गरिने बताए ।

मंसिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको उनले बताए ।

महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउनका लागि अहिलेबाटै गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।

जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम भइरहेको उनको भनाई छ ।

महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालयमा व्यवस्थापन गरिने भएकाे छ ।

यस्तै पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिदैछ ।

अनेमसंघ रत्ननगरको सरसफाइ

अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगरको आयोजनामा महाधिवेशन स्थल तथा रत्ननगर नगरपालिकाका विभिन क्षेत्रमा सरसफाइ गरिएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बताइन् ।

सुन्दर रत्नगरलाई रत्न जस्तै बनाउने र बाहिर जिल्लाबाट आउने प्रतिनिधिलाई सफा, सुन्दर नगरीमा स्वागत गर्ने उद्देश्यका साथ सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष घिमिरेले बताइन् । दुई दिनसम्म गरिने सरसफाइको पहिलो दिन आज टिकौली जंगल छेउबाट निपनी चोकसम्म सरसफाइ गरिएको थियो ।

मोटरसाइल र्‍यालीको तयारी पूरा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक ¥यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइलक र्‍यालीको आयोजना गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल ¥याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।

र्‍यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइलक र्‍यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर