रौतटहबाटै प्रभु साहको जवाफ- प्रचण्ड ठग हुन्, मधेशी सपूतलाई बली चढाएर व्यापार गरे – Nepal Press

रौतटहबाटै प्रभु साहको जवाफ- प्रचण्ड ठग हुन्, मधेशी सपूतलाई बली चढाएर व्यापार गरे

गौर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले मधेशलाई धोका दिने मामिलामा ‘स्टुड’ नै गरेको आरोप लगाएका छन् ।

सोमबार रौतहटको विजयपुरमा आयोजित नेकपा एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले जनयुद्ध कालदेखि आजसम्म पटक पटक मधेशलाई झुटा प्रतिबद्धता जाहेर गरेर हरेक पटक धोका मात्र दिएको बताए ।

प्रचण्डले हालसम्म निरन्तर जनतालाई आशलाग्दा एवं महत्वाकांक्षी वाचा गरेर पछि मधेशसंग घात गरेको नेता साहको भनाइ छ । प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचानसहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेशलाई एक प्रदेशमा सीमित गरेको नेता साहको आरोप छ ।

‘हिजोआज तपाईहरुको बीचमा आएर मधेशका लागि यो गर्छु त्यो गर्छु भन्ने प्रचण्ड उही हो जसले जनयुद्धकालमा संघीयताको नाममा मान्छे मार्ने काम गर्यो तर जब संविधान निर्माण बेला आयो संघीयताको मुद्दा नै छोडिदियो । जनयुद्ध कालमा एउटा मधेश प्रदेश बनाउछु भन्यो तर शान्ति कालमा आएर मधेशलाई ५ टुक्रा गर्ने मुद्दा ल्यायो । चुनावको बेला पहिचानको आधारमा मधेश प्रदेश बनाउछु भन्यो तर चुनाव जितिसकेपछि मधेशलाई टुक्रा टुक्रा गरिदियो ।’

उनले अगाडि भने, ‘संविधान निर्माण ताका एमाले र कांग्रेसले ५ वटा छोडेर मधेशमा दुई प्रदेश बनाउन भनेको थियो तर प्रचण्डले पहाडमा मिसाएर जम्मा ८ जिल्लाको एक प्रदेशमा झारिदियो । प्रचण्डको यस अवसरवादको कारण नै सबैले चाहेको मधेश प्रदेश बन्न सकेन ।’

प्रचण्डले मधेशलाई एक प्रदेश बनाउने मुद्दामा मात्र नभई अन्य विभिन्न महत्वाकांक्षी नारा दिएर अन्तिममा ठगेको नेता साहको भनाई छ । मधेशी जनताले माओवादीलाई विश्वास गरेर नेतृत्वको जिम्मा दिदाँ प्रचण्डले त्यसको व्यापार मात्र गरेको र मधेशी जनताको भावनासँग खेलवाड गरेको नेता साहले बताए ।

‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश बनाउछु भनेर मात्र भनेको थिएन् । आत्मनिर्णयको अधिकार दिलाउने, बराबर अधिकार दिलाउने पनि भनेका थिए । त्यही नाममा मधेशी सपुतलाई बली चढाउने पनि प्रचण्ड नै हो । पछि मधेशसँग लभ पर्यो भनेर भन्ने पनि यहि प्रचण्ड हो’, नेता साहले थपे, ‘तर आज देख्न सक्नुहुन्छ प्रचण्डले भनेको केही पनि पूरा भएको छैन । प्रचण्डले मधेशलाई सधै सत्तामा पुग्ने सिढीको रुपमा प्रयोग गरे र निरन्तर धोका मात्र दिने काम गरेको छ । यस्ता अवसरवादीलाई मधेशी जनताले पहिचान गरी सबक सिकाउन जरुरी छ ।’

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश २ का सह-इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश अध्यक्ष ज्वाला साह, रौतहट जिल्ला अध्यक्ष तुल्सी राज गिरी,सचीव मनोज यादवलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर