औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने अन्यायमा : खाँण – Nepal Press

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने अन्यायमा : खाँण

रुपन्देही । सरकारी जग्गा संरक्षणको जिम्मेवारी लिएका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिएर पुनः विवादमा तानिएका छन् । सरकारको जिम्मेवारीमा रहेपनि गृहमन्त्रीले दलीय रुपमा विरोध गर्दा विवादमा तानिएका हुन् ।

बुटवलमा आइतबार लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाँणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताएका हुन् ।

उनले मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भने, ‘बसोबास गरिरहेका जनतालाई नहटाइ उद्योग स्थापनाको व्यवस्था मिलाउनुहोस् । देश उनीहरुको पनि हो ।’

उनले मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताए ।

एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठप्रति संकेत गर्दै गृहमन्त्री खाँणले बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेर राजधानी अन्तै सार्ने काम गरेको भन्दै आलोचना समेत गरेका थिए ।

उनले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै त्यसलाई पूरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर