ए डिभिजन लिगमा मनाङको विजयी सुरुआत – Nepal Press

ए डिभिजन लिगमा मनाङको विजयी सुरुआत

काठमाडौं । दिनेश राजवंशीको निर्णायक गोलप्रेरित मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार जावलाखेल युथ क्लबविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ५७औं मिनेटमा दिनेशले हेडरमार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो ।

दक्षिण एसियाली कोटामा मनाङबाट लिग खेलिरहेका भारतीय खेलाडी दयानन्द सिंहले कर्नरमार्फत दिएको क्रसमा दिनेशले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए । करिब ३३ मिनेटको निर्धारित खेल बाँकी रहँदा लिएको अग्रता जोगाउँदै ८ पटकको लिग च्याम्पियन मनाङले लिगमा तीन अंक र क्लिनसीटसहित राम्रो सुरुआत गरेको छ ।

खेलको १५ मिनेटसम्म एउटा पनि गोलका लागि सम्भावित ‘मुभ’ नबनेको खेलअघि बढ्दै जाँदा प्रतिस्पर्धात्मक बन्दै गएको थियो । सुरुआतदेखि नै गोलका अवसर सृजना गरेर पनि गोलमा कन्भर्ट गर्न नसेकेको मनाङले गोलका धेरै मौका खेर फालेको थियो ।

खेलको १५औं मिनेटमा जावलाखेलले पहिलो सेटपिसको रूपमा कर्नर जितेको थियो । यद्यपि, जावलाखेलले मनाङको रक्षापंक्तिमा कुनै खतरा सृजना गर्न सकेन ।

रंगशालामा सुरुआती २० मिनेटसम्म फितलो देखिएको मनाङले त्यसपछि बिस्तारै खेलमा पकड जमाएको थिाये । सोही क्रमको सुरुआती क्षणः २३औं मिनेटमा कप्तान अञ्जन विष्टले ओलावाले आफिजलाई दिएको पास सोझै जावलाखेलका गोलकिपर टिकेन्दै सिंह थापाको हातमा पुगेको थियो ।

त्यसको ६ मिनेट नबित्दै २९औं मिनेटमा दिनेश राजवंशीमाथि फाउल गरेसँगै जावलाखेलका गौरब श्रेष्ठले पहेँलो कार्डको सामना गर्नु परेको थियो । सोही फाउलमार्फत पाएको फ्रि–किकमा पुजन उपरकोटीले गरेका प्रहारबाट बनेको ‘मुभ’मा ओलावालेले गरेको गोल अफ साइड भएको थियो ।

ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङविरुद्ध छिटपुट मौका बनाएको जावलाखेलका रुप बहादुर लामाले ३१औं मिनेटमा दिएको पासमा जावालाखेलका फरवार्ड ओन्गुना जुनियरले ६ यार्ड बक्स नजिकबाट गरेको फितलो प्रहार पोस्टमा पुगेन । मनाङका गोलकिपर विशाल सुनार गोललाइनबाट अगाडि बढिसकेको अवस्थामा जुनियरले गरेको प्रहार खुट्टामा राम्रोसँग ‘कनेक्ट’ नहुँदा जावलाखेलले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

मनाङ आक्रमणका लागि अगाडि बढेका बेला पाएका बललाई मौकामा परिणत गर्ने कोसिस गरेको जावलाखेलले केही मौका खेर फाल्यो भने केही क्षणमा दुर्भाग्यशाली सावित भयो । जावलाखेलका निकोलस फर्नान्डेजले ४४औं मिनेटमा बायाँतर्फबाट गरेको क्रसमा मनाङका डिफेन्डर दिनेशले क्लियर गरेको बल कर्नरमा परिणत भएको थियो । सोही कर्नरमा सुरुज जेउ ठकुरीले दिएको क्रसमा जावलाखेलका जुनियरले हेडरमार्फत गरेको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफमा कप्तान अञ्जन विष्ट फरवार्ड पोजिसनबाट मिडफिल्डमा झरेसँगै खेलको गती र मौकामा पनि प्रभुत्व जमाएको मनाङले गोलका लागि स्पष्ट मौका बनाएको थियो । पहिलो मिनेटमै कप्तान अञ्जनको पासमा मनाङका लोकप्रिय फरवार्ड ओलावाले आफिजले पेनाल्टी एरिया बाहिरबाट गरेको फितालो प्रहार जावलाखेलका गोलकिपर टिकेन्द्रले सहजै बचाउ गरेका थिए ।

मनाङले आक्रामणको मौका बनाइरहँदा बल जितेर काउन्टरमा गोलको प्रयास गरेको जावलाखेल गोल नजिक पुगेको थियो । ४७औं मिनेटमा जावालाखेलका निकोलस फर्नान्डेजले सेन्टरलाइनबाट तीव्र गतिमा दौडाएर बायाँतर्फबाट गरेको क्रसमा जुनियरको हेडर फ्रेममा परेको थिएन ।

बल पोसेसन र फ्रन्टलाइनमा पनि आक्रमक बनेको मनाङ ४९औं मिनेटमा अग्रता लिनबाट केही सेन्टिमिटरले मात्रै वञ्चित भएको थियो । मनाङका लागि लगातार बल सप्लाई गरिरहेका दयानन्द सिंहले ४९औं मिनेटमा जावलाखेलका गोलकिपर आउट अफ पोजिसन भएको बेला पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । त्यो मौका सम्भवत त्यो समयसम्म मनाङले पाएकामध्ये उत्कृष्ट थियो । यद्यपि, दयानन्दले त्यहाँ चुकाएको मौकाको निर्णायक गोलका लागि असिस्ट गर्दै क्षतिपूर्ती गरे ।

मनाङले अग्रता लिनुअघि राइट ब्याक सरोज योञ्जनले ५४औं मिनेटमा दायाँतर्फबाट दिएको सुन्दर क्रसमा मनाङका कप्तान अञ्जनले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन । गोल गरेसँगै कप्तान मनाङले कप्तान अञ्जन विष्टलाई फ्रन्टलाइनमा अगाडि पठाएको थियो ।

निर्धारित समयको ३० मिनेटभन्दा बढी समय बाँकी रहँदा १–० ले पछि परेको जावलाखेलले गोलका लागि निरन्त प्रयास गरेको थियो । केही समय मनाङको रक्षापंक्तिमा दबाब सिर्जना गरे पनि फाइनल थर्डमा फाइट गर्न नसेकेको जावलाखेल फिनिसिङमा पनि कमजोर देखियो । फलस्वरुप मनाङलाई राम्रो चुनौती दिएर पनि बराबरी गोल फर्काउन सकेन ।

जितसँगै ‘ए’ डिभिजन लिगको दुई वर्षअघिको च्याम्पियन मनाङले तीन अंक जोडेको छ । कोरोना महामारीअघि २०७६ सालमा भएको लिगको अन्तिम संस्करणमा तेस्रो बनेको मनाङले त्यसअघि ७५ सालमा अन्तिम पटक उपाधि उचालेको थियो ।

यस्तै पराजित जावलाखेल अन्तिम संस्करणमा छैठौं बनेको थियो । त्यो सिजन पनि लिगमा मनाङले जावलाखेलविरुद्ध १–० को जित निकालेको थियो ।

शुक्रबारदेखि सुरु भएको ए डिभिजन लिगमा तीन अंका हासिल गर्ने मनाङ तेस्रो टोली हो । आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपीएफ फुटबल क्ल्बलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो । त्यसअघि शनिबार दिउँसोको पहिलो खेलमा हिमालयन शेर्पा क्बल र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *