सिन्धुपाल्चोकका डीएसपी बस्नेत प्रदेशकै उत्कृष्ट प्रहरी – Nepal Press

सिन्धुपाल्चोकका डीएसपी बस्नेत प्रदेशकै उत्कृष्ट प्रहरी

सिन्धुपाल्चोक । कार्यसम्पादन मूल्यांकनमा हरेक महिना उत्कृष्ट प्रहरी छनोट गर्दे आएको वागमती प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतलाई घोषणा गरेको छ ।

वागमती प्रहरी प्रदेश कार्यालयले प्रदेश भित्रका १० जिल्लामातहातका कार्यालयमा कार्यरत प्रहरीहरुलाई कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट घोषित गरेर पुरस्कृत गर्दै आएको छ ।

यही क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा केही महिनाअघि मात्रै आएका डीएसपी बस्नेतलाई विभिन्न कामको मूल्यांकन गरेर उत्कृष्ट घोषीत गरेको हो ।

असोज र कात्तिक महिनामा सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र हेलम्बु र मेलम्चीमा दुइ वृद्धाको हत्या भएको थियो । हत्यामा संलग्नलाई छिटो पक्राउ गरी कानूनी कारवाहीमा ल्याउन सफल भएको भन्दै डीएसपी बस्नेतलाई उत्कृष्ट प्रहरी घोषीत गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

कात्तिक १८ गते राति हेलम्बु गाउँपालिका–१ खाच्युङ निवासी केसाङ लामालाई अपरिचत व्यक्तिहरुले दाउराको चिर्पट प्रहार गरी हत्या गरेका थिए । हत्या भएको दुइ दिनमा नै डीएसपी बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौमा लुकेर बसेको अवस्थामा फेला पारेको थियो ।

हत्यामा संलग्न हेलम्बुका दावा दोर्जे लामा, सार्की हेल्मो र तेन्जन लामालाई काठमाडौंबाट बस्नेतको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

अन्य हत्या लगायतका घटनाहरुमा पनि सुक्ष्म रुपमा अध्ययन गरी प्रतिवादीहरुलाई कानूनी दायरामा ल्याउन सफल भएकोले उत्कृष्ट प्रहरी घोषीत गरिएको वागमती प्रहरी प्रदेश कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकका डीएसपी बस्नेत प्रदेशकै उत्कृष्ट प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर