विद्युतीय ऊर्जाको प्रयोगबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

विद्युतीय ऊर्जाको प्रयोगबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी (भिडिओ)

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिइन् ।

उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन् । शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन् । उनले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गरे । उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताइन् ।

उनले भनिन्, ‘मुलुकमा विद्यमान परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने आवश्यक्ता छ । त्यसको निम्ति हामीसँग उपलब्ध जुन स्रोत छ । हामीले सुनिरहेका छौं–हाम्रो देशमा विस्तारै विद्युत उत्पादन बढिरहेको छ । तर हामीले त्यसको पर्याप्त प्रयोग गर्न सकिरहेका छैनौं । हामीसँग त्यो विद्युतको आन्तरिक खपत बढाउनका लागि पूर्वाधारका समस्याहरु छन । ती पूर्वाधारहरुलाई हामीले पूरा गर्ने हो भने हामीले जुन चुलिएको व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गर्न सक्छौं । र हाम्रो आन्तरिक आर्थिक वृद्धि पनि धेरै गर्न सक्छौं ।’

राष्ट्रपति भण्डारीले जलवायू परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरुको परिचालन गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पु¥याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *