कर्णालीमा कम्तिमा एमालेको एक पदाधिकारी ल्याउन बुद्धिजीवीहरुकाे माग – Nepal Press

कर्णालीमा कम्तिमा एमालेको एक पदाधिकारी ल्याउन बुद्धिजीवीहरुकाे माग

सुर्खेत । कर्णालीका वुद्धिजीविहरुले आसन्न महाधिवेशनबाट कम्तिमा एक पदाधिकारी ल्याउन आह्वान गरेका छन् । नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा नेपाल बुद्धिजीवी परिषद कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो आह्वान गरेका हुन् ।

एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलसहितका महाधिवेशन प्रतिनिधि सहभागि कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक डा. लिलाधर तिवारीले भने, ‘कर्णालीमा एमालेको बलियो जनाधार पनि छ । कर्णालीमा पदाधिकारीमा दाबी गर्ने नेता पनि हुनुहुन्छ । अब कसैले देलान र पदाधिकारी बनौंला भनेर नपर्खिनुहोला । हामी हाम्रो नेतृत्व कर्णालीले नै गरोस भन्ने चाहन्छौं ।’

नेवारे माविका प्रधानाध्यापक खगेन्द्र थापाले कहिलेपनि पदाधिकारी पाउन नसकेको कर्णालीले यो पटक पदाधिकारी पाउनुपर्ने बताए । उनले भने, ‘कर्णाली खुशी हुन चाहन्छ । कर्णालीले यसअघि कहिल्यै पनि पदाधिकारी पाउन सकेको छैन । अब यो पाली चितवनबाट रित्तो हात नफर्किनुहोला । शुभकामना छ ।’

महाधिवेशन प्रतिनिधि एवम वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले आफूहरुको ध्यान कर्णालीमा कम्तिमा एक पदाधिकारी ल्याउनेतर्फ केन्द्रित रहेको बताइन् ।

नेता कंडेलले महाधिवेशन सफल बनाउन सबैले लाग्नुपर्ने उल्लेख गर्दै भने, ‘पहिले हामी महाधिवेशन सफल पार्न लाग्छौं । को कहाँ आउने भन्ने कुरा अहिले तपसिलमा राखौं । तपाईहरुले आशा गर्नु स्वभाविक छ । पार्टी महाधिवेशनको बन्दसत्रमा हामी आवश्यक छलफल गर्छौं र कर्णालीलाई सम्मानित हुने अवसर लिएर आउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर